डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव ८४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा डिप्रोक्सले १५ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
३४ करोड ८१ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ३८ करोड ९६ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा ४४ दशमलव ४७ प्रतिशतले वृद्धि गरी एक अर्ब ५३ करोड पाँच लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा पाँच अर्ब छ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३२ दशमलव ३५ प्रतिशतले बढेर ४५ करोड तीन लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४२ दशमलव ६३ प्रतिशतले बढेर २८ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा चार करोड ५८ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले सम्भावित नोक्सानी व्यवस्थामा पाँच करोड ९० लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी ५९ दशमलव ९० रुपैयाँ, मूल्य आम्दानीको अनुपात २६ दशमलव ०३ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय ११ दशमलव ९१ रुपैयाँ र तरलता अनुपात सात दशमलव ७३ गुणा रहेको छ । त्यस्तै पुँजीकोष अनुपात १४ दशमलव ८१ प्रतिशत भएको डिप्रोक्स लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ७० प्रतिशत रहेको छ ।