मुक्तिनाथ विकास बैंक लिमिटेडले आइतबार हेटौंडा उपमहानगरपालिका वडा नं. ४, कान्तीराजपथ, हेटौंडा शाखाको समुद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार न्यौपानेले गरे । उद्घाटन मन्तव्यका क्रममा न्यौपानेले आर्थिक समृद्धि अहिलेको आवश्यकता रहेकोले महिला र युवाहरुको उद्यमशीलता विकास गर्न उद्योग वाणिज्य संघ यस विकास बैंकसंग सहकार्य गर्न तत्पर रहेको बताए ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले बैंकको विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गरेका थिए । बैंकले नेपाली समाजको आवश्यकता अनुसारका सेवाहरु प्रदान गर्दै आईरहेको तथा कृषि क्षेत्रको विकास र विस्तार गर्न उपयुक्त वित्तीय सेवाहरुमा बैंकले जोड दिएको उनले जानकारी दिएका थिए ।
शाखा समुद्घाटन कार्यक्रममा उक्त क्षेत्रका व्यापारी, समाजसेवी, कृषक र स्थानीय नागरिकहरु लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मान्यतालाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउदो कुल ५७ वटा शाखा कार्यालयहरुबाट एक लाखभन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल तीन लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरीरहेको बताइएको छ । यस विकास बैंकले हालसम्म कुल १५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।