योकोहामा (जापान) । एशियाली विकास बैंक (एडिबी)का अध्यक्ष ताकेहिको नाकाओले निरपेक्ष गरिबीको रेखामुनि रहेका एशियाका ३३ करोड जनाताको जीवनस्तर उकास्नु एडिबीको मुख्य लक्ष्य एवम् उद्देश्य भएको बताएका छन् । बैंकको स्वर्णमहोत्सवको समाचार सङ्कलन गर्न योकोहामा अन्तरराष्ट्रिय सम्मेलनस्थलमा एकत्रित भएका विश्वभरका चारसयभन्दा बढी आर्थिक पत्रकारसँगको भेटमा उनले सबै मिलेर समृद्ध एशिया निर्माण गर्नु एडिबीको लक्ष्य भएको बताए ।
एशियालाई आर्थिक रुपमा समृद्ध महादेश बनाउन यातायात, सञ्चार, ऊर्जाजस्ता भौतिक पूर्वाधार निर्माण गर्न एशियालाई वार्षिक एक खर्ब ७० अर्ब डलर आवश्यक पर्ने बताउँदै उनले त्यस निम्ति बैङ्क लागिपरेको स्पष्ट गरे । ‘दिगो विकासको सुनिश्चितता तथा समावेशितासँगै राष्ट्रराष्ट्रबीचको साझेदारी र सहकार्यबाटमात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भने । सहरीकरणले अवसरसँगै वातावरणीय चुनौती थपेको तर्क गर्दै उनले हरित सहर विकासलाई बैङ्कले प्राथमिकता दिएको बताए । क्षेत्रीय सहयोग विस्तार, व्यापार विविधीकरण र एकीकरण एशियाको समृद्धिका लागि अपरिहार्य तत्व भएका बताउँदै उनले सदस्य देशका सरकारसँगको साझेदारी, समन्वय र सहकार्यबाट लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गरे ।
एडिबीका सदस्य देशलाई बैङ्कले पूर्वाधार क्षेत्रको विकासका लागि ७० प्रतिशतसम्म ऋण सहयोग गर्दै आएको र बैङ्कसँग त्यसो गर्न पर्याप्त पूँजी रहेको जानकारी उनले बताए । चीनले अघिसारेको ‘एकक्षेत्र एक मार्ग’ (ओबोर)अवधारणा सम्पर्क र सञ्जाल विस्तारको उपयुक्त उपाय हो भन्दै अत्यन्त कम जनसङ्ख्या भएका केही मुलुकमा ओबोरको सम्भाव्यताबारे पुनर्विचार गर्नुपर्ने टिप्पणी गरे । सदस्य देशका ऊर्जा समस्या सम्बोधन गर्न बैङ्कले स्वच्छ ऊर्जा प्रवद्र्धनमा जोड दिएको बताउँदै उनले वायु, सौर्य, नवीकरणीय र जलविद्युत् बैङ्कका प्राथमिकता हुन् भने । यसैबीच बैङ्कले नेपालको सहरी विकास, खानेपानी आपूर्ति तथा व्यवस्थापन, ढल तथा नदी क्षेत्र सुधारका तीनओटा परियोजनाबारे जानकारी दिएको छ ।
बैङ्कले यो वर्ष क्षेत्रीय १४ करोड ७० लाख अमेरिकी डलरको लागतमा क्षेत्रीय सहरी विकास आयोजना, आगामी वर्ष चार करोड अमेरिकी डलरको लगानीमा वाग्मती नदी किनार सुधार परियोजना (अतिरिक्त लगानी) र १८ करोड ५० लाख अमेरिकी डलरको लागतमा सन् २०१९ मा दोस्रो काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना सञ्चालन गर्ने भएको छ । रासस