बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले चालु आर्थिका वर्षको तेस्रो त्रैमासमा ८८ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८३ दशमलव ४३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंक अफ काठमाण्डू लुम्बिनीले ४८ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
पाँच अर्ब ६२ करोड ९५ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकले जगेडाकोषमा तीन अर्ब तीन करोड ६७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ७३ दशमलव ५६ प्रतिशतले वृद्धि गरी ७० अर्ब ६७ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ८० प्रतिशतले वृद्धि गरी ६२ अर्ब ७४ करोड सात लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ७९ दशमलव ६८ प्रतिशतले बढेर एक अर्ब ९३ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७८ प्रतिशतले बढेर एक अर्ब २४ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा १० करोड ७० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकको प्रोभिजनमा २१ करोड ६८ लाख रुपैयाँ राखिएको छ । बैंकको निष्कृय कर्जा दुई प्रतिशतले घटेर एक दशमलव ७६ प्रतिशत कायम भएको छ भने भने पूँजीकोष शुन्य दशमलव ०७ प्रतिशतले घटेर १३ दशमलव ३३ प्रतिशत कायम भएको छ । चैत्र मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी वार्षिक २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २५ दशमलव १९ गुणा, प्रतिसेयर नेटवर्थ १५३ दशमलव ९४ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ९६ प्रतिशत रहेको छ ।