वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा चार करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय २६ दशमलव ३३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा वेष्टर्नले दुई करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
३१ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १२ करोड ९९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १२ दशमलव २९ प्रतिशतले वृद्धि गरी दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा एक अर्ब ८३ करोड ८८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी एक सय १० प्रतिशतले बढेर सात करोड ८० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा एक सय २७ प्रतिशतले बढेर सात करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा एक करोड १८ लाख रुपैयाँ राखेको छ ।
चैत्र मसान्तसम्ममा वेष्टर्न डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी १५ दशमलव ४० रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशलमव ७३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५६ दशमलव ८० रुपैयाँ र तरलता अनुपात २७ दशमलव ६० प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५६ प्रतिशत र पुँजीकोष २६ दशमलव ४६ प्रतिशत रहेको छ ।