नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ८३ करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी भएको नेपाल इन्भेष्टमेन्ट बैंकले जगेडाकोषमा नौ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा बैंकले छ दशमलव ३७ प्रतिशतले वृद्धि गरी एक खर्ब १९ अर्ब ८१ करोड १४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २० दशमलव ८२ प्रतिशत बढाएर बैंकले कर्जामा एक खर्ब एक अर्ब ९४ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी २८ दशमलव ८१ प्रतिशतले बढेर तीन अर्ब ४७ करोड ८१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ४१ दशमलव ९७ प्रतिशतले बढेर तीन अर्ब ४५ करोड ७३ लाख रुपैयाँ रहेको छ । यो अवधिमा २० करोड ५४ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ४३ करोड ५७ लाख रुपैयाँ राखेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३६ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २२ दशमलव १० गुणा र प्रतिसेयर नेटवर्थ दुई सय १३ दशमलव ८६ रुपैयाँ रहेको छ । निष्कृय कर्जातर्फ शुन्य दशमलव १४ प्रतिशतले घटेर शुन्य ७४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पतिमा २ दशमलव ३४ प्रतिशतले घटेर १३ दशमलव ७८ प्रतिशत रहेको छ ।