रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ७८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १२ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
६९ करोड २१ लाख रुपैयाँ चुक्तापुँजी भएको रुरल माइक्रोफाइनान्सको खुद व्याज आम्दानी गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा १७ दशमलव ६७ प्रतिशतले बढेर २३ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १५ प्रतिशतले बढेर २२ करोड ५० लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीले पाँच अर्ब ७० करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ, जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा २५ दशमलव ५७ प्रतिशत बढी हो ।
कम्पनीले जगेडाकोषमा एक अर्ब २४ करोड ७२ लाख रुपैया राखेको छ । रुरल माइक्रोफाइनान्सको जोखिम युक्तसम्पत्ति २५ दशमलव ८० प्रतिशत, निष्कृय कर्जा शुन्य, प्रतिसेयर आम्दानी वार्षिक २७ दशमलव ५९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३१ दशमलव ६ गुणा, प्रतिसेयर नेटवर्थ २ सय ८० दशमलव २१ रुपैयाँ र तरलता अनुपात १२ दशमलव ९७ प्रतिशत रहेको छ ।