Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

महुली लघुवित्तको एक लाख २० हजार कित्ता आईपिओ आउँदै

२०७४ बैशाख ५ गते

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपिओ) निष्काशन वैशाख ७ गतेदेखि सुरु हुने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रति कित्ता रू. १ सय अङ्कित दरमा १ लाख २० हजार बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन छिटोमा वैशाख ११ गते र ढिलोमा वैशाख २१ गते बन्द हुनेछ । 
 
कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये, चार प्रतिशतले हुन आउने चार हजार आठ सय कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने पाँच प्रतिशतले हुन आउने छ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरेको छ । बाँकी एक लाख नौ हजार दुई सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ६ सय कित्ता सेयर लागि दरखास्त दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । आइपिओ निष्कासनमा कुमारी बैङ्क लिमिटेड रहेको छ । इच्छुक व्यक्तिहरुले सेयर रजिष्ट्रारका साथमा एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड कमलपोखरी, महुली सामुदायिक लघुवित्त संस्था सप्तरी, गाइघाट, भोजपुर, दिक्तेल, खनियाखर्क, सन्राइज बैङ्क लिमिटेड बौद्ध काठमाडौं, कालिमाटी, महाराजगंज, लगनखेल, सुकुल ढोका भक्तपुर, पोखरा कास्की, विराटनगर, मोरङ, बुटवल रुपन्देही, भरपुर, चितवन, विरगंज, पर्सा, बिर्तामोड, झापा, महेन्द्रनगर कञ्चनपुर, धनगढी, कैलाली, नेपालगञ्ज, बाँके, गाईघाट उदयपुर, लाहान, सिराह, राजविराज, सप्तरी, ईटहरी सुनसरी र आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट पनि सो शेयरका लागि आवेदन दिन र बुझाउन सकिन्छ ।  
 
हाल महुली लघुवित्तको चुक्तापुँजी दुई करोड ८० लाख रुपैयाँ रहेको छ । आइपिओ जारी गरी बाँडफाँट गरे पश्चात लघुवित्तको चुक्तापुँजी चार करोड रुपैयाँ पुग्नेछ । 
२०७० जेष्ठ ३० गतेबाट सञ्चालनमा आएको यो कम्पनी नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त संस्था हो । सप्तरीको बकधुवा ९ महुलीमा रहेको यो कम्पनीले सप्तरी, सिरहा, उदयपुर, सुनसरी, खोटाङ्ग, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, धनकुटा र रामेछाप गरी १० जिल्लाको कार्यक्षेत्रमा २८ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीको अध्यक्षमा प्रभु नारायाण चौधरी रहेका छन्, भने प्रमुख कार्यकारी अधिकृतमा श्यामकान्त चौधरी रहेका छन् ।