Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पुँजी बजारमा नियामक निकायबीच द्धन्द्ध : ब्रोकरलाई धितोपत्र बोर्ड भन्छ– ‘उपत्यका बाहिर शाखा नखोल’, नेप्से भन्छ– ‘तुरुन्त खोल’

admin २०७३ चैत्र ८ गते
सेयर:

पुँजी बजारका नियामक निकायहरु धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)बीच बेला–बेलाको शीतयुद्ध नौलो कुरा होइन । यी दुवै निकायमा सरकारले नै प्रमुख नियुक्त गर्ने र अधिकार प्रत्यायोजन गर्दा थोरैमात्र घटबढ गरेका कारण पनि यी दुई निकायबीच बेला–बेला जुहारी नै चल्ने गरेको छ । वास्तवमा धितोपत्र बोर्डले बजार व्यवस्थापनका लागि नीति नियम निर्माण गर्ने र नेप्सेले त्यसलाई कार्यान्वयन गराउनुपर्ने हो । तर यहाँ दुवै निकायबीच समन्वय मिल्न नसक्दा समस्या हुने गरेको छ । 

त्यस्तै पछिल्लो समय फेरी यी दुई निकायबीच उपत्यकाबाहिर सेयर ब्रोकरको सेवा विस्तार गर्ने विषयमा द्धन्द्ध सुरु भएको छ । नेप्सेको शाखा विस्तार योजना अनुसार जिल्ला झरेर पुर्वाधार विकास गरिसकेका ब्रोकरहरुलाई धितोपत्र बोर्डले शाखा नखोल्न निर्देशन दिएको छ । यता, नेप्सेले भने बैशाख १५ भित्र उपत्यकाबाहिर विस्तार गरिएका शाखा सञ्चालनमा ल्याइसक्न निर्देशन दिएको छ ।

कानुनी जटिलता सुल्झाउनु पर्ने भन्दै आइतबार धितोपत्र बोर्डले विस्तार योजना रोक्न ब्रोकरहरुलाई निर्देशन दिएको थियो । सोको भोलिपल्ट अर्थात सोमबार नै एक विज्ञप्ति जारी गर्दै नेप्सेले वैशाख १५ भित्र शाखा खोलिसक्न निर्देशन दिएको हो । धितोपत्र बोर्डले कानुनी प्रक्रिया नपुगेको भन्दै शाखा विस्तार नगर्न ब्रोकरहरुलाई निर्देशन दिएको थियो । नियामकको सो निर्णयलाई बेवास्ता गर्दै नेप्सेले शाखा विस्तार योजनालाई तुरुन्तै कार्यान्वयन गर्ने आदेश दिएपछि सेयर ब्रोकरहरु भने अन्योलमा परेका छन् ।  

मुलुकको विभिन्न भागहरुबाट लगानीकर्ताहरुलाई उनीहरुको बचत परिचालन गर्न सक्षम बनाउनुका साथै दोस्रो बजार पहुँचलाई सहज बनाउने उद्देश्यले सेयर ब्रोकरहरुलाई उपत्यकाबाहिर जाने अनुमति दिइएको थियो । नेप्सेले शाखा विस्तारका लागि गत माघ ११ गते स्वीकृत गरी विभिन्न शर्तहरु सहित पूर्वाधार तोकिदिएको थियो । नेप्सेको निर्देशनअनुसार ब्रोकरहरु जिल्ला झरेर शाखा खोल्न पूर्वाधारमा लगानी गरिसकेका थिए ।

सोही अनुरुप सम्बन्धित सदस्य दलालहरुलाई यस सम्बन्धमा भएको प्रगति विवरण पेश गर्न मिति फागुन २४ गते नेप्सेले पुनः पत्राचार गरेको थियो । शाखा विस्तारका लागि स्वैच्छिक आवेदन दिएका ४१ ब्रोकर कम्पनीमध्ये, केही आवेदक सदस्य दलालहरुबाट तोकिएको मापदण्ड पूरा गरेको विवरण प्राप्त हुन नआएको भन्दै २०७४ वैशाख १५ गते सम्म तोकिएको मापदण्ड पूरा गरेर शाखा विस्तार गरी संचालन गर्न नेप्सेले निर्देशन दिएको छ । उक्त मितिभित्र शाखा स्थापना गर्न नसक्ने भएमा अन्य ईच्छुक सदस्य दलाल कम्पनीहरुलाई शाखा विस्तार स्थापनाका लागि अवसर दिईने समेत नेप्सेले स्पष्ट पारेको छ ।

नेप्सेबाट १८ वटा ब्रोकर कम्पनीले उपत्यकाबाहिर शाखा विस्तार गर्न इजाजत पाइसकेका छन् । अब शाखा खोल्ने अन्तिम चरणमा पुगेपछि नियामक निकायले नै रोक लगाएपछि ब्रोकरहरु भने अन्यौलमा परेका छन् ।

नेपाल धितोपत्र बोर्डले पुँजीबजारको नियामक निकायको जिम्मेवारी सम्हाल्दै आएको छ भने बोर्डको नियमअनुसार बजार संचालन गर्ने जिम्मा नेप्सेको हो । नियमनकारी दुई निकायबीच नै भएको द्धन्द्धका कारण सेयर ब्रोकरहरुमा अन्यौलता त छ नै, साथमा समग्र पुँजी बजार नै प्रभावित बन्ने सम्भावना देखिएको छ ।  
 
नेप्सेले धितोपत्र बोर्डको प्रावधान अनुसार नै थप राम्रा र सक्षम ब्रोकर बाहिर जाउन् भनेर उनीहरुको चुक्ता पुँजी, भौतिक पुर्वाधार, जनशक्ति र प्रविधि समेतको मापदण्ड हेरेर ब्रोकरहरुलाई उपत्यकाबाहिर जाने अनुमति दिएको बताएको छ । तर, अन्तिम चरणमा आएर बोर्डले कानुनी समस्या देखाउँदै शाखा विस्तार योजना स्थगित गर्न खोजेपछि बोर्डले नयाँ प्रावधान ल्याउन लागेको अनुमान गरिएको छ । बोर्डले केही दिनमा नै सम्पूर्ण समस्या समाधान गरिने जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।