Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ पहुँचमा सबैभन्दा कमजोर ‘प्रदेश नम्बर सात’

admin २०७३ चैत्र ७ गते
सेयर:

प्रदेश नम्बर सात (सुदूरपश्चिम) बैंकिङ पहुँचको दृष्टिकोणले सात प्रदेशमध्ये सबैभन्दा पछाडी रहेको विभिन्न तथ्यांकले देखाएका छन् । चालू आर्थिक वर्षको अभिलेखलाई आधार मानेर हेर्दा हाल यस प्रदेशअन्तर्गतका जिल्लामा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रधान कार्यालय र शाखा गरी कुल २०३ वटा रहेका छन् । तर पनि यस क्षेत्रका करीब ५० प्रतिशतभन्दा बढी मानिस बैंकिङ पहुँच बाहिर रहेको बताइन्छ । खासगरी पहाडी भेगमा पर्ने जिल्लाहरुमा अधिकांश नागरिक बैंकसँग कारोबार गर्दैनन् । त्यसैले तुलनात्मक रुपमा कैलाली र कञ्चनपुरबाहेका बझाङ, बाजुरा, दार्चुला, डोटी डडेल्धुरा, बैतडी र अछाममा निकै कम मानिसहरु बैकिङ कारोबार गर्ने गरेको नेपाल राष्ट्र बैंक धनवढी शाखाका प्रमुख विश्रुत थापा बताउँछन् ।

७,५४४.१ वर्ग किमी फैलिएको प्रदेश नम्बर ७ को २०६८ को जनगणना अनुसार कुल जनसंख्या २५,५२,५१७ छ, जुन नेपालको कुल जनसंख्याको ९ दशमलव ६३ प्रतिशत हो । प्रदेश नम्बर सातको कुल जनसंख्या मध्ये कैलाली र कञ्चनपुरमा मात्रै १५ लाख बढी जनसंख्या रहेको छ । यतिका जनसंख्या भएको यस प्रदेशमा बस्ने नागरिकको प्रतिव्यक्ति आय ६६३ अमेरिकी डलर रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ, जुन अन्य ६ वटा प्रदेशको तुलनामा सबैभन्दा कम हो । जनताको आयस्तर कम हुनु भनेको त्यहाँ बिपन्नता बढी हुनु हो । बिपन्नता नै ७ नम्बर प्रदेशको समृद्धि यात्रामा सबैभन्दा ठूलो चुनौती देखिएको छ ।

आर्थिक गतिविधिमा न्यून रहेको प्रदेश नम्बर सातमा बैंक र वित्तीय संस्थाको संख्या पनि कम नै देखिन्छ । त्यहाँका नागरिकले राष्ट्रिय मापदण्ड अनुसार बैंकिङ सेवा पाउन सकेका छैनन् । मापदण्ड अनुसार ९ हजार जनसंख्याले एउटा बैंक शाखा पाउनु पर्छ, तर यो प्रदेशका १६ हजारदेखि १७ हजार जनसंख्याको भागमा एउटा बैंक पर्ने देखिन्छ । यस्तो स्थिति सबै क्षेत्रमा त पर्दैन र अधिकांश क्षेत्रमा यही अवस्थाको सामना गर्नुपरेको छ सात नम्बर प्रदेशबासीले । अन्य प्रदेशको तुलनामा यस प्रदेशमा बैंकहरुले कर्जा प्रवाह र निक्षेप संकलन पनि निकै कम गर्ने गर्दछन् ।

निक्षेपको अनुपातमा पहाडी जिल्लामा लगानी हुन नसक्दा त्यहाँका नागरिकको आयस्तर बृद्धि हुन सकेको छैन । नेपाल राष्ट्र बैंक धनगढी प्रमुख थापाका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा सातौँ प्रदेशका ७ पहाडी जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन ९ अर्ब गरेका छन् भने लगानी ३ करोड मात्र रहेको छ । पहाडी जिल्लामा सञ्चालित बैंकले यस क्षेत्रमा न्यून लगानी गरेको थापाले बताए । बैंकिङ क्षेत्रको पहुँच बढेमा सो क्षेत्रमा आर्थिक गतिविधि बढ्न सक्ने अर्थ विश्लेषकहरू बताउँछन् । जनसंख्याका आधारमा बैंकिङ शाखा कम हुनुका साथै लगानी न्यून गरेकाले पनि क्षेत्र नम्बर ७ को आर्थिक गतिविधिमा कमी आएको हो । अर्थमा ‘भर्जिन क्षेत्र’ भएको क्षेत्र नम्बर ७ मा बैंकिङ गतिविधि बढाउन सके आर्थिक क्रान्ति हुनसक्ने विज्ञहरुको भनाई छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।