अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का आईएमएम लिक्विडिटी टेक्निकल एसिस्टेन्स मिसन प्रमुख बर्नार्ड लरेन्सले नेपालको सन्दर्भमा अस्थिर तरलता व्यवस्थापन महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार गभर्नर डा. चिरंजीबि नेपालसँगको शिष्टाचार भेटवार्तामा लरेन्सले नेपालको तरलता व्यवस्थापनका लागि बन्ड मार्केट को विकास गरी पुँजी बजारलाई थप विकसित गर्नुपर्ने आवश्यकता औँल्याए । उनले तरलता व्यवस्थापनका सम्बन्धमा नेपाल राष्ट्र बैंकको कोष प्रतिको अपेक्षाका बारेमा समेत जिज्ञासा राखेका थिए ।
यसैक्रममा गभर्नर डा. नेपालले भूकम्प तथा आर्थिक नाकाबन्दी पश्चात् आर्थिक क्रियाकलापमा आएको सुस्तता, लगानीका क्षेत्रहरु बढ्न नसकेको अवस्था एव विप्रेषण आप्रवाहमा भएको वृद्धिले बैकिंग क्षेत्रमा अधिक तरलताको स्थिति रहेको उल्लेख गर्दै केन्द्रीय बैंकले मौद्रिक उपकरणहरुको प्रयोग गरी तरलता व्यवस्थापन गरिरहेको जानकारी गराए । उनले तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका मौद्रीक उपकरणहरुको प्रभावकारिताको विस्तृत अध्ययन गरी थप आवश्यक औजार परिचालन गर्नु उपयुक्त हुने भए सो सम्बन्धमा आवश्यक सुझाब दिन कोषलाई आग्रह गर्दै यस सम्बन्धमा कोषको अन्तराष्ट्रिय अनुभव नेपालका लागि महत्वपूर्ण हुने समेत उल्लेख गरे ।
लरेन्सको नेतृत्वमा नेपाल भ्रमणमा रहेको प्रतिनिधि मण्डलमा आईएमएफका तर्फबाट रुन्चाना पोङ्सापर्न, म्यारियम इल हामाइनी र प्रसाद अनन्तक्रिशन समेत सहभागी थिए
आइएमएफकै अर्को मिसनको प्रतिनिधिमण्डलसँग पनि भेटवार्ता
यसैगरी आइएमएफ ईजीडीडीएस मिसन (eGDDS Mission) का क्रममा नेपाल भ्रमणमा रहेकी यिन फन लुमले पनि मंगलबार गभर्नर डा. चिरञ्जिवी नेपालसँग शिष्टाचार भेटवार्ता गर्दै मिसनको उद्देश्य तथा Enhanced General Data Dissemination System (eGDDS) को महत्वका बारेमा प्रकाश पारिन् । साथै, यस सम्बन्धमा अन्तर्राष्ट्रिय मुद्रा कोष राष्ट्र बैँकलाई सहयोग गर्न तयार रहेको जानकारी गराइन् । यसैबिच, गभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंक तथ्याङ्क प्रणालीको गुणस्तर वृद्धि गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै यसका लागि हालको जीडीडीएसबाट इजीडीडीएसमा स्तरोन्नती गर्न तयार रहेको बताए । साथै, यसका लागि कोषबाट प्राप्त हुने प्राविधिक सहयोग महत्वपूर्ण हुने समेत उल्लेख गरे ।
भेटवार्तामा नेपाल राष्ट्र बैंकका तर्फबाट डेपुटी गभर्नर शिवराज श्रेष्ठ एवं कार्यकारी निर्देशक नर बहादुर थापाको समेत उपस्थिति रहेको थियो ।