Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मोबाइल वित्तीय सेवा आरम्भ गर्न सक्षम र आईएमई डिजिटल सोलुसनबीच साझेदारी

२०७३ फाल्गुन ११ गते

आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यव्रmमका बीचमा साझेदारी सम्पन्न भएको छ । यसले नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्नका लागि आधारशीला तयार गर्ने अपेक्षा गरिएको छ । 

यस साझेदारीले हाल नेपालभरि आईएमईको विप्रेषण सेवालिइरहेका ६००,००० भन्दा बढी घरपरिवारका उपभोक्ताहरू तथा रेमिटेन्स सञ्जालबाहिरका उपभोक्ता तथा गैर–रेमिटेन्स क्षेत्रलाई समेत मोबाइलमा आधारित वालेटको सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यस अभियानमार्फत् आईएमईले वित्तीय सेवाबाट वञ्चित नगरोन्मुख/ग्रामीण क्षेत्र, न्यून बैंकिङ सेवा पाएका र बैंकिङ सेवाबाट वञ्चित समुदायसम्म पुग्नका लागि मोबाइल नेटवर्क सञ्चालकहरू, आफ्नै रेमिटेन्स एजेन्टहरू, वाणिज्य बैंकहरू, शाखारहित बैंकिङ सेवाका (BLB)एजेन्ट र मर्चेन्टहरूसित साझेदारी गर्नेछ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा सम्पन्न कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्द राजखनाल, डिएफआईडी नेपालका आर्थिक विकास समूह प्रमुख गारेथ विअर, नेपाल बैंकर्स एशोसियनका अध्यक्ष अनिल केशरी शाह र सक्षमका समूह प्रमुख बलजित बोहोरा लगायत अन्य विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले यसप्रकारको नवीन विधुतीय भुक्तानी प्रणालीको सुरुवातले वार्षिक झण्डै ५० अर्बसम्म सरकारी राजश्व बढाउने र आर्थिक पारदर्शिता वृद्धि गर्न सहयोगी बन्ने उल्लेख गरे । ग्रामिण क्षेत्रमावित्तीय पहुँच विस्तार गर्न यस्तो भुक्तानी प्रणाली निक्कै प्रभावकारी हुने भन्दै गभर्नर नेपालले नेपाल राष्ट्र बैंकले यस्तो नवीनतम कार्यमा पूर्ण सहयोग गर्ने वचनवद्धता व्यक्त गरे । नेपाल दूरसंचार प्राधिकरणले पनि त्यस्तै सहयोगी भूमिका निर्वाह गर्ने विश्वास समेत उनले व्यक्त गरे ।

आईएमईको रेमिटेन्स सेवाको सफलतासँग तुलनागर्दै आईएमई समूहका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, “देशविदेशमा बस्ने नेपालीहरूका बीचमा रकम ट्रान्सफर गर्ने सेवालाई आईएमईले आफ्ना एजेन्ट र साझेदारहरूमार्फत जसरी बैधानिक रूपमा मार्ग प्रशस्त गर्न सफल भएको थियो त्यसरी नै युके एड सक्षमको सहकार्यले हाम्रो यो नयाँ डिजिटल वित्तीय सेवामार्पmत् बैंक तथा वित्तीय सेवा उपलब्ध भएका क्षेत्रमा मात्र नभई सो भन्दा बाहिर रहेका जनतालाई समेत सूत्रबद्ध गरी यो सेवा सबैका हातहातमा पुर्याउने लक्ष्य हासिल गर्न सहयोग पुर्याउनेछ ।”

ग्रामीण वित्तीय क्षेत्रमा डिजिटल वित्तीय सेवाको प्रभावमाथि प्रकाश पार्दै आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकालले भने, “नेपालका ग्रामीण क्षेत्रहरूमा हालसम्म बैंक तथा वित्तीय क्षेत्रको सेवा पर्याप्त मात्रामा पुग्न नसकिरहेको अवस्थामा पनि अधिकांश नेपालीका हातहातमा मोबाइल फोन पुगिसकेको देखिएको छ । त्यसैले मोबाइल फोन मार्फत प्रदान गरिने यो डिजिटल वित्तीय सेवा आज संसारका अन्य विकसित मुलुकहरूमा जसरी प्रभावकारी र लोकप्रिय भएको छ, त्यसैगरी नेपालको पनि खास गरी ग्रामीण क्षेत्रका बैंक र वित्तीय क्षेत्रको पहुँच पुग्न नसकेका जनताका बीचमा प्रभावकारी र लोकप्रिय हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।”

सक्षम र आईएमई डिजिटल सोलुसनबीच भएको साझेदारीमाथि प्रकाश पार्दै सक्षमका समूह प्रमुख  बलजित बोहराले भने, “हामी देशव्यापी रूपमा एउटा सम्पूर्ण मोबाइल वित्तीय सेवा सुरुवात गर्नका लागि नीति–निर्माताहरू, नियामक निकायहरू, बहुराष्ट्रिय संस्थाहरूका साथै बजारमा सक्रिय निकायहरूसित अहोरात्र खटिरहेका छौँ । यसभित्र एकैसाथ रकम ट्रान्सफर, बिल भुक्तानी, खाता खोल्ने, रकम जम्मा गर्ने तथा अन्य बैंकिङ र बीमा सम्बन्धी सेवाहरू उपलब्ध हुनेछन् र अन्ततः देशभरिका ८००,००० भन्दा बढी पर्याप्त वित्तीय सेवा पाउन नसकेका उपभोक्ता सम्म हाम्रो पहुँच पुग्नेछ । आईएमईसितको हाम्रो यो साझेदारी यस क्षेत्रमा अझै बढी उत्साहजनक परियोजनाहरूको सुरुवात हो ।”

त्यस्तै, डिएफआईडी नेपालका आर्थिक विकास समूह प्रमुख गारेथ विअरले मन्तव्यका क्रममा भने, “हामीले हाम्रा कार्यक्रम कार्यान्वयन गर्ने साझेदार युके एड सक्षम (संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रम)लाई मोबाइलमा आधारित वित्तीय सेवाका क्षेत्रमा नयाँ नमूना प्रस्तुत गर्न यस क्षेत्रका प्रतिबद्ध साझेदारहरूसँग नयाँ साझेदारी गरी छिटो केही उपलब्धी हासिल गर्नका लागि चुनौती नै दिएका छौँ । हामीले आज साक्षातकार गरेको यो साझेदारीको सुरुवात सही दिशातिर बढेको सङ्केत हो । विप्रेषण कम्पनीको महत्वलाई आँकलन गरेर नेपालमा मोबाइलमा आधारित वित्तीय सेवा शुभारम्भ गर्नका लागि विप्रेषण कम्पनीहरू (तथा तिनका एजेन्टहरूको व्यापक सञ्जाल)को उपयोग गर्नु आफैँमा रचनात्मक तरिका हो ।”

आईएमई डिजिटल सोलुसन लिमिटेड आईएमई ग्रुपको सहायक कम्पनी हो । यस कम्पनीले मोबाइलमा आधारित वित्तीय सेवा अर्थात् मोबाइल वालेट सेवा आरम्भ गरी पर्याप्त बैङ्किङ सेवा/बैङ्किङ सेवा पाउन नसकेका नेपालका जनतासम्म वित्तीय पहुँच पुर्याउनुका साथै नेपालको वित्तीय समावेशीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिएको छ ।

‘सक्षम’ वित्तीय क्षेत्रमा पहुँच सम्बन्धी संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित कार्यक्रम हो । डिएफआईडी नेपालका लागि लुईस बर्जरद्वारा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसितको सहकार्यमा यसको कार्यान्वयन भइरहेको छ ।