गत आर्थिक वर्षको कमाईबाट १३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका ०.७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको मेगा बैंक नेपाल लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा चैत्र ३ गते बस्ने भएको छ । आर्मी अफिसर्स क्लव, भद्रकालीमा हुने साधारण सभाले बोनस सेयरका साथै बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्जरसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाबाट पारित गरिँदैछ ।
टुरिजमसँगको मर्जरका लागि मेगाले गत माघ ९ गतेदेखि नै सेयरधनीले पुस्तिका बन्द गरिरहेको छ । मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेसियो १०० बराबर ९५ हुने गरी मर्जर सम्झौता भएको छ । प्रस्तावित बोनस तथा ६५ प्रतिशत हकप्रद समेत निष्काशन भए पश्चात टुरिजमसँग मर्जर हुनु अघि मेगाको चुक्ता पूँजी सात अर्ब ५७ करोड रुपैंया पुग्नेछ । सबै प्रकृया सकेर मर्जर पछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी नौ अर्ब रुपैंया नाघ्ने छ ।
यसबाहेक, बैंकले जीवन र निर्जीवन बीमा कम्पनी सञ्चालन गर्ने, मर्चेण्ट बैंक तथा सेयर दलाल लाईसेन्स लिने, स्वदेशी तथा विदेशी रणनितिक साझेदारी गर्ने लगायतका प्रस्ताव साधारणसभामा लैजाने भएको छ । त्यस्तै, बैंकको कारोबारलाई व्यापक बनाउने गरी प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि साधारणसभामा लगिँदै छ । विदेशी रणनितिक साझेदार पहिचान गरी भित्र्याउन समेत साधारणसभाले अख्तियारी प्रदान गर्ने भएको छ ।