Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सुधारतर्फ नेपालको आर्थिक तथा वित्तीय बजार, मुद्रास्फीति र रेमिट्यान्समा भने अझै चुनौति

admin २०७३ फाल्गुन ६ गते
सेयर:

रुपा कोइराला । नेपाल राष्ट्र बैंकले नेपालको वित्तीय बजार सन्तुलनतर्फ उन्मुख रहेको बताएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनाको आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले पछिल्ला दिनहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप परिचालनमा भएको वृद्धिले वित्तीय बजार सन्तुलनतर्फ उन्मुख रहेको देखाउने बताएको हो । राष्ट्र बैंकका अनुसार यो अवधिमा निक्षेप संकलन ७.२ प्रतिशत र निजी क्षेत्रतर्फ  लगानीमा रही रहेको कर्जा १२.९ प्रतिशतले बढेको  छ । त्यस्तै, पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन र कर्जा प्रवाहको विस्तारमा देखिएको असन्तुलनका कारण केही वित्तीय घर्षण देखिएकोमा खुल्ला बजार कारोबार मार्फत् प्रवाहित तरलता र नेपाल राष्ट्र बैंकद्वारा हालसालै जारी बजार मार्गनिदर्शनका कारण यस्तो घर्षणमा सुधार आएको छ । 

त्यस्तै, पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति दर घट्दै आएकोले नेपाल र भारतबीचको मुद्रास्फीति अन्तर शून्यमा झरेको छ । २०७३ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७२ पुस महिनाको १२.१ प्रतिशतको उच्च बिन्दुबाट ३.२ प्रतिशतमा ओर्लेको छ । गत वर्षको आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा सुधार र  भारतमा उपभोक्ता मुद्रास्फीतिदर घटदै गएको कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति निरन्तर घट्दै आएको राष्ट्र बैंकको भनाई छ । पेट्रोलियम पदार्थको  मूल्यमा अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने वृद्धि भने नेपालको मुद्रास्फीतिमा चुनौतीको रुपमा रहेको राष्ट्र बैंकको ठम्याई छ ।

देशको समग्र ब्यापार घाटा झन् झन् फराकिलो हुँदै गएको छ । ब्यापार घाटा ७४ प्रतिशतले बढेर ४२८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकद्धारा जारी प्रतिवेदनका अनुसार, यो अवधिमा कुल वस्तु आयात ६७.३ प्रतिशतले बढेर चार खर्ब ६४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । कुल वस्तु निर्यात भने १४.८  प्रतिशतले  वृद्धि भई ३६ अर्ब  २७ करोड रुपैयाँ पुगेको  छ । अघिल्लो वर्षको छ महिनासम्ममा रु. १३९ अर्ब ७५ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ४५ अर्ब दुई करोड रुपैयाँले बचतमा रहेको छ । आयातमा उच्च वृद्धि भएता पनि मुलुकको शोधनान्तर स्थिति बचतमा रहेकोले वैदेशिक मुद्राको सञ्चिति बढ्दै आएको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनासम्ममा वैदेशिक मुद्राको सञ्चिती १० खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यस्तो सञ्चिती असार मसान्तको १० खर्ब ३९ अर्ब २१ करोड रुपैयाँको तुलनामा ४.८ प्रतिशतले वृद्धि बढी हो । 

विदेशी विनिमय सञ्चिती बढ्दो क्रममा रहेतापनि विप्रेषण आप्रवाहको घटदो वृद्धिदर चिन्ताको विषय रहेको राष्ट्र बैंकको भनाई छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह  ५.७ प्रतिशतले वृद्धि भई तीन खर्ब ४२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । जबकी, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह  १७.३ प्रतिशतले वृद्धि भएको थियो ।

सरकारी बजेट स्थिति मजवुद रहँदै आएको देखिएको छ । राजस्वमा उल्लेख्य वृद्धि भएबाट सरकारी बजेट बचतमा रहेको कारण २०७३ पुस मसान्तसम्ममा राष्ट्रको ढुकुटीमा दुई खर्ब १७ अर्ब ६० करोड नगद मौज्दात कायम भएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।