रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड र नेपाल बैंक लिमिटेड बीच बैंकिङ कारोबारसम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाल बैंकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र रुरल माइक्रोफाइनान्सको तर्फबाट सो संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले सम्झौतापत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार रुरल माइक्रोफाइनान्सले अब नेपाल बैंकमा रहेको बैंक खाताबाट कुनै पनि शाखाबाट आफ्ना साझेदार संस्थाहरुलाई रकम ट्रान्सफर गर्दा तथा साझेदार संस्थाहरुले पनि कुनै पनि शाखाबाट सो खातामा रकम जम्मा गर्दा शुल्क नलाग्ने भएको छ ।
नेपाल बैंक धेरै शाखा सञ्जाल भएको ठूलो वाणिज्य बैंक हो भने रुरल माइक्रोफाइनान्स लघुवित्त संस्थाहरुलाई थोक कर्जा तथा प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रियस्तरको अग्रणी लघुवित्त संस्था हो । यस सम्झौताबाट रुरल माइक्रोफाइनान्सका २०० भन्दा बढी साझेदार लघुवित्त संस्थाहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।