Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

७३ भूकम्पपीडितले पाए दोस्रो किस्ता अनुदान

admin २०७३ माघ ६ गते
सेयर:

सिन्धुलीका ७३ जना भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ता वितरण गरिएको छ । पहिलो किस्ता लिएर पहिलो चरणको निर्माण सम्पन्न गरेका भूकम्पपीडितलाई दोस्रो किस्ता दिइएको हो । 

दोस्रो किस्ताको कार्या्विधि संशोधनमा ढिलाइ हुँदा ढिला गरी शीतलपाटी गाउँ विकास समितिका भूकम्पपीडितले दोस्रो किस्ता पाएको गाविसका सचिव कल्याण घिसिङले जानकारी दिए । जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले एक आवास निर्माणको पहिलो किस्ताको चरण पार गरेका ७३ घरलाई दोस्रो किस्ताबापतको रू. एकलाख ५० हजारका दरले एकमुष्ट रू. एककरोड नौ लाख ५० हजार को चेक राष्ट्रिय वाणिज्य बैङ्क शाखा झागाझोली रातमाटालाई हस्तान्तरण गरेका छन् । 

नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रमअन्तरगत सिन्धुलीको शीतलपाटी गाविसमा पुनर्निर्माणसहितको काम अगाडि बढाइएको छ । एक सय ४९ जनालाई डकर्मी तथा सिकर्मीको तालिम दिइ लाभग्राहीको सूचीमा परेकालाई वितरण गरिएको हो । लाभग्राहीको सूचीमा समावेश भएका ८ सय ८० जना मध्ये ८ सय ५३ जना लाभग्राहीसँग अनुदान सम्झौता भएको र उनीहरुलाई भूकम्प प्रतिरोध घर निर्माण गर्न रेडक्रसले अगुवाइ गरेको छ । 

सिन्धुलीका दुई नगरपालिका र ५० गाविसमा अनुदान सम्झौता भए पनि दोस्रो किस्ताको रकम प्राप्त गर्न शीतलपाटीका लाभग्राही पहिलो भएका छन् । अन्य गाविस र नगरपालिकामा पुनर्निर्माण सन्तोषजनक नभएको बताइएको छ । तर शीतलपाटी गाविसमा ‘हाल निजी आवास निर्माण १ सय ६४ जनाले गाविसमा शुरू गरेको र दोस्रो किस्ताका लागि १ सय १६ जना योग्य भइसकेको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार ४८ जना लाभग्राहीले इञ्जिनियरको प्रत्यक्ष निगरानीमा दोस्रो चरणको निर्माण कार्य सकिसकेकाले तेस्रो किस्ता दिनसमेत योग्य भइसकेका छन् । समुदायमा भूकम्पले क्षति र्पुयाएको भौतिक संरचना निर्माणका साथै खानेपानी तथा सरसफाई, जीविकोपार्जन र स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको रेडक्रस सोसाइटी सिन्धुलीले बताएको छ । 

यता जिल्लाका राजनीतिक दलले भुइँतले १३ फिट अग्लो मात्र भएकाले बस्न लायक नहुने तर्क गरेका छन् । निर्माण धमाधम भइरहेका घरका भान्छा घरमात्र भएकाले त्यस्तो नभएर मानिसको सामान्य व्यवहार सञ्चालन गर्न मिल्ने गरी बनाउनुपर्ने दलहरुको भनाइ छ । 

माटोको घर एक तलाको १३ फिट उचाइको मात्र बनाउनुपर्ने मापदण्ड भएकाले सरकारको मापदण्डअनुसार नै निर्माण गरेको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले बताएको छ । कमलामाई नगरपालिकामा भूकम्प प्रतिरोधी आवास बनाउन तीनहजार ७ सय १० लाभग्राहीले अनुदान सम्झौता गरेको भए पनि अहिलेसम्म ५० जनाले मात्र आवास निर्माणका लागि नगरपालिकासँग अनुमति लिएका छन् । 

सिन्धुलीमा २७ हजार ८ सय  लाभग्राहीसँग अनुदान सम्झौता भए पनि ७३ जनाले मात्र दोस्रो किस्ताबापतको रकम पाएको जिविस सिन्धुलीका डिजास्टर फोकल पर्सन बवीन्द्रलाल माझीले जानकारी दिए । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।