Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकद्वारा बाढीपीडितका लागि २ करोड २२ लाख रुपैयाँभन्दा बढी सहयोग

२०८३ भाद्र २३ गते

बैंकिङ खबर /  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ। बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको हो ।

अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट, प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायतको उपस्थिति रहेको थियो ।

बैंकले विपद्का कारण ज्यान गुमाएका नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।भोटेकोशी बाढीबाट बैंकको नुवाकोटस्थित देवीघाट शाखा कार्यालयसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने उद्देश्यले बैंकले खाद्यान्न तथा अन्य आवश्यक सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ ।

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। बैंकका अनुसार पछिल्लो आर्थिक सहयोगले बाढीबाट प्रभावित नागरिकको राहत, उपचार तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।