
बैंकिङ खबर / कुमारी बैंक पार्टनरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (PCAF) मा आबद्ध भएको छ। बैंकले आफ्नो कर्जा तथा लगानीबाट सिर्जना हुने हरितगृह ग्यास उत्सर्जन पहिचान, मापन र सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई अवलम्बन गर्ने भएको हो । PCAF को सदस्य बनेसँगै बैंकले वित्तीय गतिविधिसँग जोडिएको कार्बन उत्सर्जनको लेखांकन तथा रिपोर्टिङका लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड प्रयोग गर्नेछ । यसबाट बैंकको जलवायु सम्बन्धी तथ्यांक संकलन तथा सार्वजनिक गर्ने प्रणाली थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
कुमारी बैंकले यो पहललाई दिगो तथा जिम्मेवार बैंकिङतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ। बैंकका अनुसार वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा तथा गर्ने लगानीको वातावरणीय प्रभाव बुझ्नु जलवायु जोखिम व्यवस्थापन तथा दिगो वित्त प्रवर्द्धनका लागि महत्वपूर्ण हुन्छ ।
PCAF मा आबद्धतापछि प्राप्त हुने तथ्यांकलाई बैंकले भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनसम्बन्धी रणनीति निर्माणमा प्रयोग गर्ने लक्ष्य राखेको छ। यसले न्यून–कार्बन तथा जलवायु उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।
कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले PCAF मा आबद्धता बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए। वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनबारे स्पष्ट जानकारी प्राप्त हुँदा जलवायु रणनीति सुदृढ गर्न र पारदर्शिता बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
बैंकले आगामी दिनमा दिगो वित्तका अवसर विस्तार गर्नुका साथै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायु पक्षलाई थप समावेश गर्ने जनाएको छ। साथै, नेपालका दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्याउन सम्बन्धित सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने बैंकको योजना छ । PCAF वित्तीय संस्थाहरूबीचको विश्वव्यापी सहकार्य हो, जसले कर्जा तथा लगानीसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जन मापन तथा खुलासाका लागि साझा ढाँचा उपलब्ध गराउँदै आएको छ। यस पहलमार्फत वित्तीय संस्थाहरूले आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव पहिचान गरी त्यसअनुसार रणनीति बनाउन सक्नेछन् ।
कुमारी बैंकले देशभर रहेको आफ्नो बैंकिङ सञ्जालमार्फत दिगो वित्तीय पहललाई विस्तार गर्ने जनाएको छ। बैंकका अनुसार हाल २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ र १ हजार २३३ पीओएस टर्मिनल सञ्चालनमा छन् । बैंकले ग्राहककेन्द्रित सेवा, जिम्मेवार बैंकिङ र दिगो वित्तलाई प्राथमिकतामा राख्दै आफ्नो व्यवसायिक गतिविधिमा वातावरणीय पक्षको एकीकरणलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएको छ ।