बैंकिङ खबर / प्राकृतिक विपत्तिका बेला समेत मजबुत देखिँदै आएको नेपाली सेयर बजारमा भोटेकोशी बाढीको असर देखिन थालेको छ । बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेपछि जलविद्युत् कम्पनीसँगै निर्जीवन बीमा कम्पनीको सेयरमा समेत दबाब परेको छ ।
बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन दर्जनौँ जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ । आयोजनाको उत्पादन तथा पुनर्निर्माण प्रभावित हुँदा सम्बन्धित कम्पनीको आम्दानी र नाफामा असर पर्न सक्ने लगानीकर्ताको चिन्ता छ ।त्यस्तै, आयोजनामा भएको क्षतिका कारण बीमा कम्पनीमाथि ठूलो दाबी भुक्तानीको दबाब पर्न सक्ने देखिएको छ । यसले जलविद्युत् र निर्जीवन बीमा उपसमूहमा थप दबाब सिर्जना गर्न सक्छ ।
अब बजारको दिशा भने आयोजनाको वास्तविक क्षति, बीमा दाबी, पुनर्निर्माणको समय र कम्पनीहरूको वित्तीय अवस्थाले निर्धारण गर्ने देखिन्छ । क्षति शीघ्र पुनःस्थापना भए बजारमा परेको तत्कालीन मनोवैज्ञानिक असर कम हुन सक्ने सम्भावना पनि छ ।