Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भारतसँग वार्ता गरी फर्कियो राष्ट्र बैंकको टोली : कसरी साटिन्छन् नेपालमा रहेका भारु ? (प्रक्रियासहित)

admin २०७३ माघ २ गते
सेयर:

नेपालमा रहेका प्रतिबन्धित भारु साट्ने विषयमा छलफल गर्न भारत पुगेको नेपाली टोली शनिबार काठमाडौँ फर्किएको छ । दिल्लीमा नेपाली टोली त्यहाँका अर्थ, विदेश मन्त्रालयका साथै भारतीय रिजर्भ बैंकका अधिकारीसँग दुई चरणको वार्ता सकेर शनिवार स्वदेश फर्किएको हो ।  

के भयो वार्ता ?
छलफलमा सहभागी राष्ट्र बैंकका एक अधिकारीका अनुसार नेपालमा रहेका भारु सटहीका विषयमा भारत सकारात्मक देखिएको छ । पाँच सय र हजार दरका भारतीय नोट साट्ने सम्बन्धमा नेपाली टोलीले तयार पारेको मोडालिटी बुझेपछि भारतले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाई छ । यद्यपी मोडालिटीमा केही कुरा संशोधन गर्न भारतीय अधिकारीहरुले नेपाललाई सुझाव दिएका छन् । सो मोडालिटीमा परिचयपत्र, आम्दानीको स्रोत लगायतका विषयहरूलाई स्पष्ट खुलाएर मात्र पुराना भारतीय नोटहरू साट्न सकिने लगायतका प्रावधान राखिएका छन् । पुराना नोट साट्दा गैरकानुनी रूपमा कमाइएको र कालोधन तथा भारतबाटै नेपाल भित्रिन सक्ने कालोधन साटिने विषयमा भारतीय पक्ष विशेष सजग देखिएका छन् । किनभने नेपालको बैंकिङ प्रणालीमा रहेका नोटको यकिन भए पनि सर्वसाधारणसँग भएको रकमको वास्तविक अभिलेख छैन । त्यसैले उनीहरुले पनि आफ्ना केही सुझाव राखेका छन् ।

नेपालमा रहेका पाँच सय र हजार दरका भारु सटहीसम्बन्धमा छलफल गर्न डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसहित, राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगाना, अर्थमन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव र भारतका लागि नेपाली राजदुताबासका एक प्रतिनिधि बुधबार नयाँ दिल्ली पुगेका थिए । उनीहरुले त्यहाँ बिहिबार र शुक्रबार भारतीय पक्षसँग वार्ता गरेका हुन् । सोही क्रममा नेपाली टोलीले आफुले तयार पारेको मोडालिटी भारतलाई बुझाएको हो । मोडालिटी बुझेको भारतीय पक्षले मोडालिटीमा केही संशोधन गर्नुपर्ने बताएपनि नेपालमा रहेका भारु साटिने निश्चितजस्तै देखिएको नेपाली अधिकारीहरुको बुझाई छ । यद्यपी नेपालमा रहेका बैधानिक च्यानलका भारु साट्ने विषयमा भारतको ठोस निर्णयका लागि भने केही समय कुर्नुपर्ने देखिएको छ ।

भारतमा पुराना नोटहरू साट्ने समयसीमा डिसेम्बर ३० मा समाप्त भइसकेको छ । यद्यपी नेपालमा रहेका भारु साट्न भारतले ‘नाई’ नभनेकाले दुई देशका अधिकारीहरूबीच भएको वार्तालाई निकै महत्वका साथ हेरिएको छ ।  

गत नोभेम्बर ८ मा हजार र पाँच सयको भारतीय नोटमा प्रतिबन्ध लागेको थियो । यससँगै नेपालमा रहेका भारतीय नोटबारे अन्यौल सिर्जना भएको थियो । राष्ट्र बैंकका अनुसार नेपालको बैंक तथा वित्तीय संस्थामा साढे तीन करोड रुपैयाँ बराबरको भारतीय पाँच सय र एक हजार दरका नोट छन् ।
 
वार्ताबारे गभर्नरलाई जानकारी गराउँदै
भारतीय पक्षसँग छलफल गरी शनिबार स्वदेश फिर्ता भएको नेपाली टोलीले आइतबार नै गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेट गरी वार्ता भएका कुराबारे जानकारी गराउने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । भारतले नोट प्रतिवन्ध लगाएपछि गभर्नर नेपालले यहाँ रहेका नोट सटही गर्नेबारे चासोका साथ पहल गर्दै आएका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।