Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

विपद् राहतका लागि आइएमईबाट निःशुल्क रकम पठाउन सकिने

२०८३ भाद्र १२ गते

बैंकिङ खबर  /  प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि राहत तथा उद्धारमा सहयोग गर्न विदेशबाट नेपालमा आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने भएको छ ।

आइएमईका अनुसार विदेशमा रहेका नेपाली तथा नेपालमा आर्थिक सहयोग गर्न चाहने व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषप्रधानमन्त्री राहत कोषका लागि विभिन्न बैंकमा रहेका खातामा आइएमईमार्फत सिधै निःशुल्क रकम पठाउन सक्नेछन् । रेमिट्यान्स प्रणालीमार्फत सहयोग रकम पठाउन सकिने भएपछि विदेशमा रहेका नेपालीबाट राहत कोषमा आर्थिक सहयोग जुटाउन सहज हुने अपेक्षा गरिएको छ ।

नेपालभित्रबाट पनि खल्ती बाइ आइएमईमार्फत सरकारी राहत कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। यस सुविधामार्फत सर्वसाधारणले डिजिटल माध्यमबाट राहत कोषमा योगदान गर्न सक्नेछन् ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउने क्रम बढेको छ। यही सन्दर्भमा आइएमईले आफ्नो भुक्तानी तथा रेमिट्यान्स सञ्जालमार्फत सहयोग रकम सहज रूपमा सम्बन्धित कोषमा पुर्‍याउन सकिने व्यवस्था गरेको हो ।

आइएमईले विपद्को यस संवेदनशील समयमा आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न सर्वसाधारण तथा विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ। साथै, बाढीबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।