बैंकिङ खबर/ रसुवाको टिमुरे तथा भोटेकोशी आसपास आएको भीषण बाढीका कारण विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी प्रभावित भएका छन्। बाढीपछि केही कर्मचारी सम्पर्कविहीन भएका छन् भने पछिल्लो विवरणअनुसार सम्पर्कविहीनमध्ये थप चार जना सम्पर्कमा आएका छन्। यद्यपि, उनीहरूका नाम सम्बन्धित बैंक वा नेपाल बैंकर्स संघबाट औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। सानिमा बैंकका अनुसार भदौ १० गते बिहान करिब ८ः४५ बजे टिमुरे आसपास आएको भीषण बाढीपछि टिमुरे शाखामा कार्यरत दुई कर्मचारीसँग सम्पर्क हुन सकेको छैन। बैंकले उनीहरूको अवस्थाबारे जानकारी लिन खोजी तथा समन्वयको काम भइरहेको जनाएको छ। उनीहरूबारे कुनै जानकारी प्राप्त भए नजिकको सानिमा बैंक शाखा वा बैंकले सार्वजनिक गरेको सम्पर्क माध्यममा जानकारी गराउन आग्रह गरिएको छ।
त्यस्तै, गोसाइँकुण्ड तीर्थयात्राका क्रममा रहेका मुक्तिनाथ विकास बैंकका दुई महिला कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। बैंकका अनुसार नयाँ बानेश्वर शाखामा कार्यरत बिजेता अवाले र माछापोखरी शाखामा कार्यरत सुन्दरी श्रेष्ठसँग सम्पर्क हुन सकेको छैन। बैंकले उनीहरूबारे जानकारी प्राप्त भए नजिकैको शाखा वा बैंकको सम्पर्क माध्यममार्फत जानकारी गराउन आग्रह गरेको छ। यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) का सात जना कर्मचारी बाढीपछि सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो। बैंकका अनुसार स्याफ्रुबेँसी शाखामा कार्यरत शिव प्रसाद लम्साल, जितमान घले, टेका बहादुर लोचेन, पासाङ याङजेन तामाङ र भीम बहादुर खड्का तथा मेलुङ एक्स्टेन्सन काउन्टरका मुकेश खड्का र टिमुरे शाखाकी डोल्मा लामा सम्पर्कविहीन भएका थिए। एनएमबि बैंकको टिमुरे शाखामा कार्यरत चार कर्मचारी पनि बाढीपछि सम्पर्कविहीन भएका थिए। बैंकका अनुसार धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डितसँग सम्पर्क हुन नसकेको थियो। बैंकले उनीहरूको अवस्थाबारे जानकारी प्राप्त भए तत्काल बैंकलाई जानकारी गराउन आग्रह गरेको थियो।
यसरी बैंकहरूले सार्वजनिक गरेका विवरणअनुसार सानिमा बैंकका दुई, मुक्तिनाथ विकास बैंकका दुई, एनआईएमबीका सात र एनएमबि बैंकका चार गरी कम्तीमा १५ जना कर्मचारी सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। यसबाहेक सम्पर्कविहीन भएका केही कर्मचारीका सम्बन्धमा बैंकहरूले अझै पूर्ण विवरण सार्वजनिक गरेका छैनन्। बाढीपछि प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध हुँदा कर्मचारीको यकिन अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको बैंकहरूले जनाएका छन्। बैंक तथा वित्तीय संस्थाहरूले शाखा कार्यालय, कर्मचारी र सेवाग्राहीको अवस्थाबारे विवरण संकलन तथा खोजीलाई प्राथमिकतामा राखेका छन्। पछिल्लो समय सम्पर्कविहीन कर्मचारीमध्ये थप चार जना सम्पर्कमा आएको जानकारी आए पनि उनीहरू कुन–कुन बैंकका कर्मचारी हुन् भन्ने औपचारिक विवरण सार्वजनिक हुन बाँकी छ। त्यसैले सम्बन्धित बैंकबाट थप पुष्टि भएपछि सम्पर्कविहीन कर्मचारीको वास्तविक संख्या र अवस्थाबारे थप स्पष्ट हुने देखिएको छ।