बैंकिङ खबर / गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा आफ्नै स्वामित्वमा निर्माण गरिएको नवनिर्मित भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ। बैंकले बुधबार भदौ ३ गते नयाँ भवनमा केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच बैंकको नवनिर्मित केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन्। कार्यालय स्थानान्तरणसँगै यसअघि काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय अब बालुवाटारमा सञ्चालनमा आएको छ।
गरिमा विकास बैंकले २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको थियो। बैंकले २०६७ साल वैशाख १ गते कास्कीको महेन्द्रपुलमा आफ्नो केन्द्रीय कार्यालय स्थानान्तरण गरेको थियो। राष्ट्रियस्तरको विकास बैंकका रूपमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण गरिएको थियो।
नयाँ केन्द्रीय कार्यालय उद्घाटनको अवसरमा कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजा पनि आयोजना गरिएको बैंकले जनाएको छ। समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नियामक निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले स्याङ्जाको वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको उल्लेख गर्दै आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको अर्को अध्याय सुरु भएको बताए। उनले बैंकको व्यावसायिक यात्रामा ग्राहक, शेयरधनी, नियामक निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको बताए।
त्यस्तै, समापन सत्रमा बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर आगामी दिनमा बैंकलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले आफ्ना ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।



