काठमाडौं । नेपालमा डिजिटल बैंकिङको विस्तारसँगै बैंकिङ प्रणालीलाई लक्षित गरेर हुने वित्तीय अपराधको शैली पनि बदलिँदै गएको छ । पछिल्लो समय बैंकको कर्मचारी भएको भन्दै ग्राहकलाई फोन गर्ने र ‘केवाइसी अपडेट गर्नुपर्ने’ बहानामा ओटीपी तथा मोबाइल स्क्रिनमा पहुँच पुर्याएर रकम चोरी गर्ने गिरोह सक्रिय देखिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले यस्तै शैलीबाट ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जय कुमार केवट, रामग्राम–१७ का २२ वर्षीय विद्या सागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गर्दै बैंकबाट फोन गरेको भन्दै सम्पर्क गर्ने गरेका थिए । त्यसक्रममा केवाइसी अपडेट गर्नुपर्ने, बैंक खाता नवीकरण गर्नुपर्ने लगायतका बहाना बनाएर पीडितलाई ह्वाट्सएप कलमार्फत सम्पर्क गर्ने र मोबाइलको स्क्रिन सेयर गर्न लगाउने गरेका थिए । स्क्रिन सेयर गराएपछि मोबाइलमा आउने ओटीपी कोड प्राप्त गर्ने वा माग्ने र त्यसको माध्यमबाट बैंक खातामा अनधिकृत पहुँच पुर्याउने गरेको प्रहरीको प्राविधिक विश्लेषणबाट खुलेको छ । त्यसपछि खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । यस घटनाले डिजिटल बैंकिङ बढ्दै जाँदा ग्राहकको कमजोर डिजिटल सचेतनालाई अपराधीले वित्तीय अपराधको माध्यम बनाइरहेको देखाएको छ । बैंकको नाम, कर्मचारीको परिचय र केवाइसी अपडेटजस्ता सामान्य बैंकिङ प्रक्रियालाई नै विश्वासको आधार बनाएर ग्राहकबाट संवेदनशील सूचना तथा पहुँच प्राप्त गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
प्रहरीले पक्राउ परेकाहरूमाथि काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
डिजिटल बैंकिङमा सुविधा बढेसँगै वित्तीय अपराधको जोखिम पनि नयाँ स्वरूपमा देखिन थालेकाले बैंकका ग्राहकले फोन, म्यासेज वा सामाजिक सञ्जालमार्फत आउने ‘केवाइसी अपडेट’ जस्ता आग्रहमा आफ्नो ओटीपी, पासवर्ड वा मोबाइल स्क्रिनको पहुँच दिनु जोखिमपूर्ण हुने देखिएको छ ।
Banner News
बैंकको कर्मचारी बनेर ठगी गर्ने नयाँ शैली : ‘केवाइसी अपडेट’ भन्दै ठगी गर्दै
२०८३ भाद्र २ गते
