बैंकिङ खबर / चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सरकारको राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा बढेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन मसान्तसम्म सरकारको कुल आम्दानी रु. ९३ अर्ब ४३ करोड ६३ लाख पुगेको छ। यो गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा करिब १० प्रतिशत अर्थात् रु. ८ अर्ब २४ करोड बढी हो । सरकारले साउनमा कर राजस्वबाट रु. ८५ अर्ब १९ करोड ६ लाख र गैरकर राजस्वबाट रु. ७ अर्ब ३ करोड ४७ लाख सङ्कलन गरेको छ। यस्तै, वैदेशिक अनुदानबापत रु. २४ करोड ३ लाख प्राप्त भएको छ। चालु आर्थिक वर्षमा सरकारले कुल रु. १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख राजस्व तथा आम्दानी सङ्कलन गर्ने लक्ष्य लिएको छ । यता, साउन महिनामा सरकारको कुल बजेट खर्च रु. ४१ अर्ब ८८ करोड ५८ लाख पुगेको छ। चालु आर्थिक वर्षका लागि सरकारले रु. २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाखको बजेट विनियोजन गरेको छ। साउनको खर्च कुल वार्षिक बजेटको १.९७ प्रतिशत हो ।
कुल बजेटमध्ये चालुतर्फ रु. १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख विनियोजन गरिएकोमा साउन मसान्तसम्म रु. २१ अर्ब ४० करोड ३८ लाख खर्च भएको छ। यो चालु बजेटको १.६८ प्रतिशत हो । पुँजीगत खर्चतर्फ रु. ४ खर्ब ३१ अर्ब १० लाख ६३ हजार विनियोजन गरिएको छ। त्यसमध्ये साउनमा ०.३१ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । त्यस्तै, वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म रु. १९ अर्ब १५ करोड ३५ लाख खर्च भएको छ। यो यस शीर्षकमा विनियोजित वार्षिक बजेटको ४.५३ प्रतिशत बराबर हो ।


