Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

भदौमा वाणिज्य बैंकको निक्षेप ब्याजदर घट्यो

२०८३ भाद्र १ गते

बैंकिङ खबर / वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत निक्षेपको औसत ब्याजदर घटेको छ। २० वाणिज्य बैंकको औसत ब्याजदर साउनको ४.१७ प्रतिशतबाट घटेर भदौमा ४.१३ प्रतिशतमा कायम भएको हो ।

संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि घटेको छ। साउनमा ३.११६ प्रतिशत रहेको संस्थागत निक्षेपको औसत ब्याजदर भदौमा ३.०८१ प्रतिशतमा झरेको छ ।

भदौका लागि ब्याजदर सार्वजनिक गर्ने २० वाणिज्य बैंकमध्ये पाँच बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् भने १५ बैंकले अघिल्लै महिनाको दरलाई निरन्तरता दिएका छन् ।

ब्याजदर घटाउने बैंकमा सिद्धार्थ बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल बैंक, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्। तीमध्ये सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर सबैभन्दा धेरै घटाएको छ ।

सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.२९ प्रतिशत बिन्दुले घटाएर ३.७६ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपको ब्याजदर पनि घटाएर ३.०५ प्रतिशतमा ल्याइएको छ ।

यस्तै, नेपाल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएर ४.१५ प्रतिशत कायम गरेको छ। सिटिजन्स बैंक, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि भदौका लागि व्यक्तिगत निक्षेपको ब्याजदरमा कटौती गरेका छन् ।

बैंकहरूले हरेक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने व्यवस्था रहेकाले निक्षेपकर्ताले आफ्नो बैंकको पछिल्लो ब्याजदर तथा सम्बन्धित निक्षेप योजनाका सर्तहरू हेरेर बचत तथा मुद्दती निक्षेपसम्बन्धी निर्णय गर्नुपर्ने हुन्छ ।

भदौ महिनाको नयाँ ब्याजदर लागू भएसँगै बैंकमा निक्षेप राख्ने ग्राहकले पाउने प्रतिफलमा समेत सामान्य प्रभाव पर्नेछ ।