Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

नेपाल एसबिआई बैंकलाई चार प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान

२०८३ श्रावण १२ गते

बैंकिङ खबर/ नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ। भारतको प्रतिष्ठित इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा बैंकले एकैपटक चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्दै नेपालको बैंकिङ क्षेत्रलाई विश्वमञ्चमा थप उचाइमा पुर्‍याएको छ। बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट परफर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट परफर्मेन्स अन प्रोफिटाबिलिटी’ तथा ‘बेस्ट कमर्सियल बैंक’ विधामा सम्मान प्राप्त गरेको हो। यी अवार्डहरूले बैंकले व्यावसायिक बैंकिङ, वित्तीय सुशासन, गुणस्तरीय सम्पत्ति व्यवस्थापन, नाफामुखी कार्यसम्पादन तथा साना तथा मझौला उद्यम (एमएसएमई) प्रवर्द्धनमा देखाएको उत्कृष्ट योगदानलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको बैंकले जनाएको छ। भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त अवार्डहरू ग्रहण गरेका थिए। अन्तर्राष्ट्रिय स्तरको यस्तो सम्मानले नेपाल एसबिआई बैंकको संस्थागत क्षमता, विश्वसनीयता र प्रतिस्पर्धात्मक दक्षतालाई थप मजबुत बनाएको विश्वास बैंकले व्यक्त गरेको छ। बैंकका अनुसार पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ सेवाको विस्तार, ग्राहककेन्द्रित वित्तीय समाधान, जोखिम व्यवस्थापन, गुणस्तरीय सम्पत्ति नियन्त्रण तथा साना–मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्ने रणनीतिले उल्लेखनीय सफलता दिलाएको छ। यही कारण बैंकले अन्तर्राष्ट्रिय मूल्यांकनमा उत्कृष्ट स्थान बनाउन सफल भएको जनाएको छ। एमएसएमई क्षेत्रलाई प्राथमिकतामा राखेर उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तारका लागि आवश्यक वित्तीय सहयोग तथा नवीन बैंकिङ सेवाको विकासमा बैंकले निरन्तर काम गर्दै आएको छ। यससँगै सम्पत्तिको गुणस्तर सुधार, वित्तीय अनुशासन कायम राख्ने नीति तथा प्रभावकारी व्यवस्थापन प्रणालीले बैंकको समग्र कार्यसम्पादनलाई अझ बलियो बनाएको बताइएको छ।

बैंकले यो उपलब्धिलाई आफ्ना सेयरधनी, ग्राहक, कर्मचारी तथा नियामक निकायसँगको विश्वास र सहकार्यको प्रतिफलका रूपमा लिएको छ। विज्ञप्तिमार्फत बैंकले निरन्तर विश्वास गर्ने ग्राहक, लगानीकर्ता तथा सहकार्य गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट, सुरक्षित र विश्वसनीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। नेपाल एसबिआई बैंकले आगामी दिनमा प्रविधिमैत्री बैंकिङ सेवाको विस्तार, वित्तीय पहुँच अभिवृद्धि, दिगो बैंकिङ अभ्यास तथा ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर आफ्नो सेवा थप प्रभावकारी बनाउने जनाएको छ। साथै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण, निजी क्षेत्रको विकास तथा उद्यमशीलतालाई थप गति दिन बैंकले आफ्नो भूमिका अझ सक्रिय बनाउने लक्ष्य पनि अघि सारेको छ। ३३ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको नेपाल एसबिआई बैंक हाल देशभर १०३ शाखा कार्यालय, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। आधुनिक बैंकिङ प्रविधि, सुरक्षित वित्तीय सेवा र ग्राहकमैत्री व्यवस्थापनका कारण बैंकले नेपाली बैंकिङ क्षेत्रमा आफ्नो विशिष्ट पहिचान कायम राख्न सफल भएको छ। अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त यो चारवटा प्रतिष्ठित सम्मानले नेपाल एसबिआई बैंकको मात्रै होइन, समग्र नेपाली बैंकिङ क्षेत्रको क्षमता र विश्वसनीयतालाई पनि नयाँ उचाइमा पुर्‍याएको छ। आगामी दिनमा पनि गुणस्तरीय सेवा, नवप्रवर्तन, सुशासन र ग्राहकको विश्वासलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धतासहित बैंकले आफ्नो सफलताको यात्रालाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।