बैंकिङ खबर/ नेपालमा सूचना प्रविधि उद्योगले पछिल्ला केही वर्षयता उल्लेखनीय विस्तार गरिरहेको अवस्थामा त्यसलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित NAS-IT Expo 2026 आयोजना हुने भएको छ। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT) ले आगामी नोभेम्बर २१ र २२ मा ललितपुरको हेरिटेज गार्डेन, सानेपामा आयोजना हुने एक्स्पोको घोषणा गर्दै यसलाई नेपाली प्रविधि उद्योगको क्षमता प्रदर्शन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। नेपालमा विकास भएका सफ्टवेयर, डिजिटल सेवा र प्रविधिमा आधारित समाधानलाई व्यवसाय, सरकारी निकाय तथा अन्तर्राष्ट्रिय लगानीकर्तासँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस एक्स्पोमा आईटी कम्पनी, स्टार्टअप, उद्यमी, नीतिनिर्माता, शैक्षिक संस्था तथा प्रविधिमा रुचि राख्ने हजारौं सहभागीको उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यसले केवल प्रदर्शनीको भूमिका मात्र निर्वाह नगरी नयाँ व्यापारिक सम्बन्ध, रणनीतिक साझेदारी तथा लगानीका अवसर विस्तार गर्ने प्लेटफर्मका रूपमा समेत काम गर्नेछ।
NAS-IT ले अघिल्लो संस्करणबाट प्राप्त सकारात्मक अनुभवलाई आधार बनाएर यसपटकको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ। गत वर्ष सम्पन्न एक्स्पोमा दुई हजार पाँच सयभन्दा बढी सहभागी तथा तीसभन्दा बढी सूचना प्रविधि कम्पनीले आफ्ना उत्पादन र सेवाको प्रदर्शन गरेका थिए। त्यसक्रममा धेरै कम्पनीले नयाँ व्यावसायिक साझेदार फेला पारेका थिए भने केहीले लगानी तथा सेवा विस्तारका अवसरसमेत सिर्जना गर्न सफल भएको आयोजकको दाबी छ। यस वर्षको एक्स्पोमा कृत्रिम बौद्धिकता (AI), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, डिजिटल ट्रान्सफर्मेसन, डाटा व्यवस्थापन तथा उदीयमान प्रविधिका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिनेछ। साथै, विभिन्न उद्योग तथा व्यवसायले सामना गरिरहेका चुनौती समाधान गर्न सक्ने नेपाली प्रविधि समाधानहरू प्रत्यक्ष रूपमा प्रदर्शन गरिने कार्यक्रम पनि तय गरिएको छ। आयोजकका अनुसार एक्स्पोमा सहभागी कम्पनीहरूले आफ्ना नवीन उत्पादन र सेवाको प्रदर्शनसँगै सम्भावित ग्राहक, लगानीकर्ता तथा व्यावसायिक साझेदारसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउनेछन्। त्यस्तै, डिजिटल अर्थतन्त्र, प्रविधिमा आधारित व्यवसाय विस्तार, स्टार्टअप विकास तथा नवप्रवर्तनका विषयमा विशेषज्ञहरूको सहभागितामा छलफल तथा अन्तरक्रियात्मक सत्रसमेत सञ्चालन गरिनेछ।
नेपालमा डिजिटल रूपान्तरणको गति बढिरहेका बेला सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने माध्यमका रूपमा पनि यस एक्स्पोलाई हेरिएको छ। प्रविधिमा आधारित सेवाको प्रयोग विस्तार, स्वदेशी आईटी उद्योगको प्रवर्द्धन र विश्व बजारमा नेपाली कम्पनीको उपस्थिति मजबुत बनाउने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। NAS-IT का अनुसार प्रदर्शनीमा सहभागी हुने कम्पनी, वक्ता, आगन्तुक दर्ता, साझेदारी कार्यक्रम तथा विस्तृत कार्यतालिका आगामी दिनमा सार्वजनिक गरिनेछ। नेपाली प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि थप सक्षम बनाउने र डिजिटल अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने विश्वासका साथ NAS-IT Expo 2026 को तयारी अघि बढाइएको आयोजकको भनाइ छ।


