बैंकिङ खबर/ आर्थिक वर्ष २०८२/८३ सम्पन्न भएसँगै अधिकांश वाणिज्य बैंकहरूले कर्मचारीलाई अग्रिम बोनस वितरण सुरु गरेका छन्। तर एनआईसी एशिया बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), प्रभु बैंक र प्राइम कमर्सियल बैंकले भने यस वर्ष अग्रिम बोनस वितरण नगर्ने निर्णय गरेका छन्। अन्य बैंकले साउनको पहिलो सातादेखि नै कर्मचारीको खातामा बोनस जम्मा गर्न थाले पनि यी पाँच बैंकले बोनस वितरणका लागि अन्तिम वित्तीय अवस्था स्पष्ट हुने समयसम्म पर्खने रणनीति अपनाएका हुन्। बैंकिङ स्रोतका अनुसार बोनस वितरण नगर्नुको प्रमुख कारण बैंकहरूको वित्तीय विवरणलाई अन्तिम रूप दिन बाँकी रहनु, बाह्य लेखापरीक्षण प्रक्रिया पूरा हुन बाँकी हुनु तथा नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत हुनुपर्ने अवस्था हो। यी प्रक्रिया पूरा भएपछि मात्रै वितरणयोग्य मुनाफाको वास्तविक अवस्था स्पष्ट हुने भएकाले बोनस वितरणको निर्णय त्यसपछि गर्ने तयारी गरिएको बताइएको छ।
विशेषगरी एनआईसी एशिया बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकमा पछिल्लो समय निष्क्रिय कर्जा बढेको, कर्जा नोक्सानी व्यवस्थाका लागि थप रकम छुट्याउनुपर्ने अवस्था रहेको तथा सञ्चित नाफामा दबाब परेको विषय बैंकिङ क्षेत्रमै चर्चाको विषय बनेको छ। यस्ता वित्तीय सूचकले बैंकको वितरणयोग्य मुनाफालाई प्रत्यक्ष असर पार्ने भएकाले अग्रिम बोनस वितरणमा सावधानी अपनाइएको स्रोतहरूको भनाइ छ।यता प्राइम कमर्सियल बैंकको अवस्था भने केही फरक देखिएको छ। विगतका वर्षहरूमा कर्मचारीलाई तुलनात्मक रूपमा आकर्षक बोनस उपलब्ध गराउँदै आएको बैंकले यस वर्ष हालसम्म अग्रिम बोनस वितरण गरेको छैन। बैंकले बोनस नदिने औपचारिक कारण सार्वजनिक नगरे पनि अन्तिम वित्तीय विवरण, नाफाको अवस्था र आवश्यक नियामकीय प्रक्रिया पूरा भएपछि मात्रै बोनस वितरणको निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।
नेपालको बोनस ऐन, २०३० अनुसार नाफा कमाउने प्रत्येक संस्थाले वार्षिक खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारी बोनसका लागि छुट्याउनुपर्ने कानुनी व्यवस्था छ। तर कर्मचारीले पाउने बोनसको वास्तविक रकम भने संस्थाको वितरणयोग्य मुनाफा, नियामकीय व्यवस्था, लेखापरीक्षणको निष्कर्ष तथा स्वीकृति प्रक्रियासँग जोडिएको हुन्छ। त्यसैले सबै बैंकले एउटै समयमा वा एउटै दरमा बोनस वितरण गर्दैनन्।यस वर्ष बैंकिङ क्षेत्रमा बोनस वितरणको चित्र मिश्रित देखिएको छ। नबिल बैंकले तीन महिनाको तलब बराबर अग्रिम बोनस वितरण गरेर सबैभन्दा अगाडि देखिएको छ। सानिमा, एनएमबि र सिद्धार्थ बैंकले दुई महिनाको तलब बराबर बोनस दिएका छन् भने कुमारी र ग्लोबल आईएमई बैंकले डेढ महिनाको तलब बराबर अग्रिम बोनस वितरण गरेका छन्। माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले एक महिनाको तलब बराबर बोनस उपलब्ध गराएका छन् भने लक्ष्मी सनराइज बैंकले साउन १५ पछि बोनस वितरण गर्ने तयारी गरिरहेको जनाएको छ।
बैंकिङ क्षेत्रका विश्लेषकहरूका अनुसार अग्रिम बोनस वितरण गर्नु वा नगर्नु मात्रै कुनै बैंकको राम्रो वा कमजोर अवस्थाको अन्तिम सूचक होइन। बोनस वितरणको निर्णय बैंकको नाफा, कर्जा गुणस्तर, जोखिम व्यवस्थापन, सञ्चित मुनाफा तथा नियामकीय आवश्यकतासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। त्यसैले कतिपय बैंकले कर्मचारीलाई तत्काल बोनस दिएर प्रोत्साहन गर्ने रणनीति अपनाउँछन् भने केही बैंकले अन्तिम वित्तीय अवस्था स्पष्ट भएपछि मात्रै वितरण गर्ने नीति रोज्ने गरेका छन्। नेपाल राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि र सम्बन्धित बैंकहरूको वार्षिक साधारणसभा सम्पन्न भएपछि कर्मचारीले पाउने कुल बोनसको वास्तविक आकार स्पष्ट हुने अपेक्षा गरिएको छ। त्यसपछि अग्रिम बोनस नदिएका बैंकहरूले पनि आफ्नो वित्तीय क्षमता र कानुनी व्यवस्थाअनुसार बोनस वितरण गर्ने सम्भावना रहेको बैंकिङ क्षेत्रको बुझाइ छ।


