Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

स्क्यामको नयाँ जालबारे राष्ट्र बैंकको चेतावनी : लोभ र नक्कली पहिचानबाट ठगी !

२०८३ श्रावण ५ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले पछिल्लो समय डिजिटल माध्यममार्फत हुने वित्तीय ठगी (स्क्याम)का घटना बढ्दै गएपछि सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सूचना जारी गर्दै सामाजिक सञ्जाल, फोन, इमेल, एसएमएस र नक्कली वेबसाइट प्रयोग गरेर विभिन्न बहानामा ठगी गर्ने प्रवृत्ति बढिरहेको जनाएको हो।

राष्ट्र बैंकका अनुसार ‘स्क्याम’ भनेको झुक्याएर, लोभ देखाएर वा डर त्रास सिर्जना गरेर कसैको पैसा, सम्पत्ति वा व्यक्तिगत तथा वित्तीय विवरण गैरकानुनी रूपमा हात पार्ने कार्य हो। स्क्यामरहरूले आफूलाई बैंक, सरकारी निकाय, कम्पनी, साथीभाइ वा आफन्तका रूपमा प्रस्तुत गर्दै विश्वास जित्ने र त्यसपछि रकम वा गोप्य जानकारी माग्ने गरेका छन्। केन्द्रीय बैंकले पछिल्लो समय नक्कली लट्री, उपहार, विदेशबाट रकम आएको बहाना, आकर्षक लगानीको प्रस्ताव, जोखिमबिनाको उच्च प्रतिफल, नक्कली रोजगारी, अनलाइन किनमेल, प्रेम सम्बन्ध (रोमान्स स्क्याम) तथा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना उल्लेखनीय रूपमा बढेको जनाएको छ। यस्ता घटनामा ठगी गर्ने समूहले अग्रिम शुल्क, कर, दर्ता रकम वा बैंक खाताको विवरण माग्ने र अन्ततः रकम लिएर सम्पर्कविहीन हुने गरेको पाइएको छ।

यस्तै, कारोबार गर्दा वास्तविक संस्थाको सट्टा फरक व्यक्तिको खातामा रकम पठाउन लगाउने, आफूलाई नियामक निकाय वा बैंकको कर्मचारी भन्दै तुरुन्तै पैसा ट्रान्सफर गर्न दबाब दिने, पसलमा नक्कली क्यूआर कोड राख्ने, मोबाइलमा नक्कली भुक्तानी भएको सन्देश देखाएर सामान लैजाने जस्ता तरिका पनि प्रयोग भइरहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले कुनै पनि आर्थिक कारोबार गर्नुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता अनिवार्य रूपमा पुष्टि गर्न, अपरिचित व्यक्तिसँग बैंक खाता, ओटीपी, पासवर्ड वा अन्य संवेदनशील जानकारी साझा नगर्न र अस्वाभाविक रूपमा धेरै नाफा वा सहज आम्दानीको प्रलोभनमा नपर्न आग्रह गरेको छ।

यदि कुनै प्रस्ताव वा कारोबार शंकास्पद लागेमा तत्काल रोकिएर सम्बन्धित बैंक तथा वित्तीय संस्था, नेपाल प्रहरीको साइबर ब्युरो वा नियामक निकायलाई जानकारी गराउन राष्ट्र बैंकले सर्वसाधारणसँग अनुरोध गरेको छ।