बैंकिङ खबर / नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पुँजी बजार सुधारका आठ प्राथमिकता सार्वजनिक गरेको छ। बोर्डले अब प्रि–आईपीओ कारोबारलाई नियमनको दायरामा ल्याउने, सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई प्रभावित पार्ने ‘फिन्फ्लुएन्सर्स’ माथि निगरानी कडा बनाउने र अनधिकृत लगानी परामर्श तथा वित्तीय ठगी नियन्त्रण गर्ने जनाएको छ।
त्यसैगरी, लगानीकर्ताको कारोबार लागत घटाउन प्राथमिक र दोस्रो बजारको शुल्क पुनरावलोकन गरिने, मार्जिन कारोबार पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने, ‘फ्री फ्लोट’ सेयरका आधारमा नयाँ नेप्से सूचकांक विकास गरिने तथा आईपीओ अनुमति प्रक्रियालाई थप वस्तुनिष्ठ बनाइने बोर्डले जनाएको छ। साथै, म्युचुअल फन्डको लक–इन अवधि पुनरावलोकन गर्दै आगामी दशकलाई लक्षित ‘नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३’ अनुसार सुधारका कार्यक्रम अघि बढाइने बोर्डको भनाइ छ।


