Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

समावेशी समाज निर्माणमा कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण

२०८३ जेष्ठ २६ गते

बैंकिङ खबर / कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परिएका समुदायमा २५ थान सेतो छडी (White Cane) वितरण गरेको छ ।

दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक आवागमनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख सुशिल पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गर्नुभएको थियो । कार्यक्रममा बैंकका अनुपालना विभाग प्रमुख खुमनाथ भुसालको समेत उपस्थिति रहेको थियो ।

दृष्टिविहीन व्यक्तिहरूका लागि सेतो छडी केवल हिँडडुल गर्ने साधन मात्र नभई आत्मनिर्भरता, सुरक्षा र आत्मविश्वासको महत्वपूर्ण आधार हो । विशेषगरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट बञ्चित समुदायका दृष्टिविहीन व्यक्तिहरूका लागि यस्ता सहयोगले दैनिक जीवनलाई सहज बनाउन तथा समाजमा सक्रिय सहभागिता जनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख पौडेलले व्यक्त गर्नुभएको छ । सेतो छडीले दृष्टिविहीन व्यक्तिहरूको जीवनस्तर सुधार, सामाजिक समावेशीकरण तथा स्वतन्त्र जीवनयापनलाई प्रोत्साहन गर्ने लक्ष्य सर्वोदय परियोजनाका सौगात वाग्लेले व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बैंकले यस्ता कार्यक्रमहरुमार्फत आत्मविश्वास र सामाजिक समावेशितामा सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ ।