Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बाफियामाथि पुनः छलफल सुरु हुँदै, आजै पारित गर्ने तयारी

२०७३ पुष २६ गते

व्यवस्थापिका संसद बैठकमा संसदीय अर्थ समितिले तयार पारेको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया)माथि छलफल मंगलबारबाट सुरु हुँदैछ । यसअघि सोमबारको बैठकमा अर्थ समितिका सभापति प्रकाश ज्वालाले ‘बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयकको सम्बन्धमा समितिको पूरक प्रतिवेदन २०७३’ पेस गरेका थिए । संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईका अनुसार मंगलबार सोहि विधेयकमाथि छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ । सभामुख ओनसरी घर्तीको व्यस्तताका कारण मंगलबारदेखि आइतबारसम्मका लागि बैठक स्थागित हुने सम्भावना भएकाले बाफिया विधेयकमाथिको छलफल आजै सकेर पारित गर्ने तयारी गरिएको सभामुख घर्ती निकट श्रोतले जनाएको छ ।


बाफिया विधेयक संसदमा पेश भएसँगै अर्थसमितिकोे बैठकले पारित गरेपनि लामो समयदेखि अड्किएको यो विषय टुङ्गो लाग्ने देखिएको छ । करीब ६ महीनाअघि अन्तिम छलफलका लागि संसद्मा टेबुल भइसकेको यो विधेयकमा राखिएका केही प्रावधान आपत्तिजनक देखिएको भन्दै उक्त विधेयक पुनः छलफल गर्न भनी अर्थसमितिमा नै फिर्ता पठाइएको थियो । तर पछि ती आपत्तिजनक भनिएका प्रावधानमा आवश्यक छलफलपछि संशोधनसहित अर्थसमितिले पारित गरेको थियो । त्यसअघि संसद्मा टेबुल हुँदा विधेयकमा बैङ्क सञ्चालक रहेका सांसदले आफूअनुकूल व्यवस्था राखेको भन्ने विवाद आएको थियो । विवाद बढ्दै गएपछि उक्त विधेयक संसद्बाट अर्थसमितिमा फिर्ता भएको थियो । तर, पछि तिनै बैङ्क सञ्चालक सांसदहरूले पनि बाफियामा भएको संशोधनलाई स्वीकार गरेका थिए ।


हालसम्म कुनै कारणले बैङ्क तथा वित्तीय संस्थाका संस्थापकले संस्थापक सेयर बेच्नु पर्यो  भने कम मूल्यमा बेच्नुपर्ने बाध्यता छ । किनभने त्यस्तो सेयर किन्ने पनि संस्थापककै रूपमा रहनुपर्छ । यसले गर्दा प्रवद्र्धक शेयरको बजारमूल्य सर्वसाधारण सेयरको बजारमूल्यभन्दा कम हुने गरेको थियो । त्यही प्रावधानका कारण प्रवर्द्धकहरूको गुनासो रहिरहन्थ्यो । तर, संशोधित बाफियामा बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको १० वर्षपछि राष्ट्र बैङ्कको स्वीकृतिमा संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गरी पटक–पटक गरेर बेच्न पाउने व्यवस्था राखिएको छ । यस्तो व्यवस्थाले संस्थापक लगानीकर्तालाई सजिलो बनाएको छ भने एकैपटक संस्थापक शेयर बेच्दा बजार बिगार्ने जोखीम पनि कम गर्ने व्यवस्था छ । अर्थविदहरुका अनुसार यो कुरालाई सकारात्मक रुपमा लिन सकिन्छ ।


बाफियाको संशोधनमा संवैधानिक अङ्गका व्यक्ति बैङ्क सञ्चालक बन्न नपाउने व्यवस्था कायम गरिएको छ । संशोधित बाफियाले सञ्चालक, अध्यक्ष र सीईओको कार्यकाल तोकेको छ । बाफियाले अध्यक्ष र सीईओको योग्यता पनि तोकिदिएको छ । त्यस्तै संशोधित बाफियामा लघुवित्तहरुले बैंक लेख्न नपाउने व्यवस्था गरेको छ । यसमा भने लघुवित्तकर्मीहरुले आपत्ति जनाउँदै आएका छन् ।