२०८२ माघ २५ गते

प्रमुख प्राविधिक अधिकृत रीना डंगोल निमित्त प्रबन्ध निर्देशकमा नियुक्त।

बैंकिङ खबर / नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त हुनुभएको छ। २०८२/१०/२२ को सम्माननीय प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८२/१०/२३, च.नं. संस्थान/१६३९/क को नियुक्ति पत्रबाट उहाँलाई निमित्त प्रबन्ध निर्देशक तोकिएको छ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गर्नुभएको छ। उहाँ २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नु भई २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिनुभएको थियो।

उहाँ २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो र प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवम् वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत पुरा गरिसक्नु भएको छ। उहाँ हाल प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताउनु भयो। उहाँले कम्पनीलाई ग्राहक-केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने विचार व्यक्त गर्नुभयो। आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्दै उहाँले आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यका साथ अघि बढ्न कर्मचारीहरुलाई आह्वान गर्नुभयो।