२०८२ माघ २५ गते

काठमाडौं उपत्यका खानेपानी लिमिटेड NCHL मा आबद्ध।

बैंकिङ खबर / काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) ले नेपाल क्लियरिङ्ग हाउससँग भुक्तानी सम्बन्धी कारोबारहरुलाई अटोमेट गर्न सम्झौता गरेर NCHL को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी (संकलन तथा वितरण) शुरु गरेको छ। सम्झौता पत्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका तर्फबाट संस्थाका कार्यकारी निर्देशक अशोक कुमार पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए।

उक्त सम्झौता पश्चात् काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न शुरु गरेको हो। यस अन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले NCHL-IPS र RPS प्रणालीहरु मार्फत तलब भुक्तानी, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु गर्नसक्नेछन। उक्त कारोबारहरु KUKL को बैंक खाताबाट सोझै लाभग्राही वा ग्राहकहरुले आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । साथै, KUKL ले अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू गर्ने योजना रहेको छ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको NPI मा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ११० भन्दा बढि गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्। यस मार्फत सदस्यहरुले संस्थाहरुको NCHL-IPS र RPS प्रणालीहरुको प्रयोग गर्न सक्छन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यका भित्र खानेपानी तथा ढल व्यवस्थापन सेवाको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी प्राप्त गरेको छ। KUKL को सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले संस्थाले लामो समयदेखि आवश्यक रहेको डिजिटाइजेशन अभियानको थालनी गर्दै आफ्न बिलिङ्ग तथा भुक्तानी प्रक्रियाहरु स्वचालित गर्ने पहल गरेकोछ।

थप जानकारीको लागि www.nchl.com.np र www.kathmanduwater.org मा हेर्नुहोला।