बैंकिङ खबर/ नबिल बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा देशभरका २० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी हो। गत वर्ष सोही अवधिको तुलनामा नबिलको नाफा करिब ४६.७ प्रतिशतले वृद्धि भएको छ। गत आव पुससम्म बैंकको खुद नाफा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ थियो।
ब्याज आम्दानी र शुल्क-कमिसनमा वृद्धि
नबिलको चालु आवको खुद ब्याज आम्दानी ८ अर्ब ८ करोड पुगेको छ, जुन गत आवको ७ अर्ब ८९ करोडको तुलनामा बढेको हो। न्यून ब्याजदरका कारण बैंकको ब्याज खर्चभन्दा आम्दानी बढी भएको छ।
फि, कमिसन र व्यापारिक आम्दानी १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ भने ट्रेडिङ आम्दानी ४६ करोड ४३ लाख रुपैयाँ रहेको छ। गत आवको आम्दानीभन्दा सुधार देखाएको छ।
कर्जा नोक्सानीमा सुधार
विगतमा कर्जा नोक्सानीको ठूलो भार रहेकोमा चालु त्रैमासमा बैंकको कर्जा डिफल्ट दर घटेको छ। विगतको नोक्सानी व्यवस्थाबाट ४ करोड ८८ लाख रुपैयाँ फिर्ता भएको छ। यसै अवधिमा बैंकले ५ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी ४ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ।
नाफा र प्रतिशेयर विवरण
बैंकको वितरणयोग्य नाफा ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ, जुन गत आवको १ अर्ब ८९ करोडको तुलनामा बढी हो। वार्षिक प्रतिसेयर आम्दानी (EPS) ३५ रुपैयाँ ४ पैसा पुगेको छ भने प्रतिसेयर किताबी मूल्य २ सय ३५ रुपैयाँ ६४ पैसा छ।
अन्य वित्तीय सूचकांकहरू :
- खराब कर्जा अनुपात : ०.८८% (गत आव दोस्रो त्रैमासमा ४.९३%)
- आधार ब्याजदर: ५.०४%
- कर्जा निक्षेपको ब्याजदर: ३.५४%
- रिटर्न अन इक्विटी (ROE) : १४.५४%
- कस्ट अफ फन्ड: ३.६२%
नबिल बैंकको नाफा वृद्धि र खराब कर्जा घट्नुले बैंकको वित्तीय सुदृढीकरणमा महत्वपूर्ण संकेत दिएको छ।