बैंकिङ खबर / अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनले बुधबार विश्वव्यापी रूपमा १६ हजार कार्यालय कर्मचारीको जागिर कटौती गर्ने निर्णय गरेको छ। यो कदम कम्पनीको व्यापक पुनर्संरचना योजनाको हिस्सा हो, जसअन्तर्गत अक्टोबरदेखि नै करिब ३० हजार पद कटौती गर्ने लक्ष्य राखिएको थियो। अक्टोबरमा यस योजनाअन्तर्गत १४ हजार पद पहिले नै कटौती गरिएको थियो। त्यतिबेला अमेजनले कृत्रिम बुद्धिमत्ता (एआई) र कम्पनीको कार्यसंस्कृतिमा परिवर्तनलाई मुख्य कारण उल्लेख गरेको थियो।
अमेजनकी प्रमुख मानव संसाधन अधिकारी बेथ गालेट्टीले एक पोष्टमा भनेकी छन् कि यो कटौती कम्पनीलाई मजबुत बनाउन आवश्यक छ, जसले तह घटाउने, जिम्मेवारी बढाउने र नोकरशाही घटाउने काम गर्दछ। उनले केही टिमहरूमा थप समायोजनको सम्भावना पनि देखाइन्। गालेट्टीले जारी विज्ञप्तिमा भनेकी छन्, “जागिर कटौतीको उद्देश्य तह घटाउने, स्वामित्व बढाउने र कर्मचारीतन्त्रलाई सरल बनाउने हो।”
यो कदम कम्पनीको तीन दशकको इतिहासमा सबैभन्दा ठूलो जागिर कटौती मानिएको छ। यसले २०२२ अन्त्यदेखि २०२३ सुरुमा गरिएका २७ हजार पद कटौतीलाई समेत पार गरेको छ। अक्टोबरका रिपोर्टअनुसार, करिब ३० हजार पद कटौती कम्पनीको करिब ३.५ लाख कार्यालय कर्मचारीको १० प्रतिशतभन्दा बढी हो। यस योजनाले वितरण तथा गोदाम कर्मचारीहरूलाई असर नगर्ने बताइएको छ। करिब १५ लाख कर्मचारी कार्यरत क्षेत्रहरूमा भने यसबाट कुनै प्रभाव पर्ने छैन।
कम्पनीले यसबारे मिडियामा टिप्पणी गर्न अस्वीकार गरेको छ। अमेजनले फेब्रुअरी ६ मा पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी दिने जनाएको छ।