January 4th, 2017

भिवोर सोसाईटीले पायो ‘बेस्ट इन्टरप्राइज अवार्ड’, सीईओ बने ‘म्यानेजर अफ द इयर’

भिवोर सोसाइटी डेभलपमेन्ट बैंक बेस्ट इन्टरप्राइज अवार्डबाट सम्मनित भएको छ । हालै लण्डनमा आयोजित समिट अफ लिडर्स २०१६, सोक्रेट्स अवार्ड सेरोमोनीमा युरोप विजनेश एसेम्ब्लीले भिवोर सोसाईटीलाई सो अवार्डबाट सम्मानित गरेको हो । बैंकले कुशल व्यवस्थापनबाट देशभर रहेका शाखा सञ्जालमार्फत सर्वसाधारण वित्तीय पहुँच पुर्याउन विशेष योगदान गरेको, अफ्ठेरो परिस्थितिलाई समेत सजिलै व्यवस्थापन गरी आफ्ना ग्राहकहरुको हितमा कार्य गर्न सफल रहेको भन्दै बैंकलाई यो सम्मान प्रदान गरिएको हो । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई म्यानेजर अफ द इयर समेत घोषणा गरिएको छ । कार्यक्रममा सिईओ खनालले बैंकको सफलताको कथा प्रस्तुत गरेका थिए ।

भिवोर डेभलपमेन्ट बैंक र सोसाईटी डेभलपमेन्ट बैंक एकआपसमा मर्ज भएर बनेको भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको चुक्तापुँजी १ अर्ब ८२ करोड रुपैयाँ छ । बैंकले ४२ वटा शाखा र एउटा एक्स्टेन्सन काउण्टरमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । युरोप विजनेश एसेम्ब्लीमा १६० भन्दा बढी देशका सदस्य र साझेदार छन् ।