
बैंकिङ खबर/ कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँ नगद सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी पलिया बस्ने बर्ष २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई धनगढी उप-महानगरपालिका-३ स्थित मिलनचोकबाट नियन्त्रणमा लिएको हो ।
कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख तीन सय ५० रुपैयाँ बरामद भएको बताए ।
पक्राउ परेका मध्ये हरचित गुप्ताले चलाएको यूपी ३१ सीएन ११७५ नम्बरको भारतीय कारमा स्रोत नखुलेको रकम फेला परेको थियो । कार र पक्राउ परेका दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच सप्तरीमा स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ जना युवक पक्राउ परेका छन् । सुरूङगा नगरपालिका–२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रुपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–५ बस्ने २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाइ रहेका छन् । इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बा.प्रदेश ०१–०२८ च ५००८ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक किरण र गाडीमा सवार धिरजलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।