२०८२ कार्तिक ११ गते

युवा फिन्टेक विशेषज्ञ विष्णु महर्जन ‘नोजा अनर अवार्ड’बाट सम्मानित


बैंकिङ खबर/ युवा फिन्टेक विशेषज्ञ विष्णु महर्जन ‘नोजा अनर अवार्ड’बाट सम्मानित भएका छन्। हालै आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले महर्जनलाई उक्त अवार्ड प्रदान गरेका हुन्।

महर्जन नेपाली वित्तीय क्षेत्रका अनुभवी फिन्टेक तथा बैंकिङ विशेषज्ञ हुन्।  उनी हाल देवना सफ्ट प्रा.लि(आई स्मार्ट)का सीईओका रूपमा कार्यरत छन्, जहाँ उनले सहकारी तथा डिजिटल बैंकिङ क्षेत्रको रूपान्तरणका लागि एआई-संचालित समाधान र नवीन प्रविधि विकासको नेतृत्व गरिरहेका छन्।

१८ वर्षभन्दा बढीको व्यावसायिक अनुभव भएका महर्जनले आफ्नो करियरमा प्राइम बैंक, सनराइज बैंक, निर्धन माइक्रोफाइनान्स र अन्तर्राष्ट्रिय फिन्टेक कम्पनी प्योरसफ्टवेयर जस्ता प्रतिष्ठित संस्थाहरूमा काम गरेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट सूचना व्यवस्थापनमा स्नातक (२००७) र पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवसाय अध्ययनमा कार्यकारी स्नातकोत्तर (२०१६) गरेका महर्जनले नेपालका सहकारी र लघुवित्त संस्थाहरूलाई डिजिटल सशक्तिकरण गर्ने लक्ष्य राखेका छन्।

देवना सफ्टमा उनले मोबाइल बैंकिङ प्लेटफर्म, क्युआर भुक्तानी प्रणाली, डिजिटल वालेट एकीकरण, ओम्नी–च्यानल बैंकिङ समाधान र सहकारीका लागि एआई–संचालित स्वचालन प्रणाली विकासमा महत्वपूर्ण योगदान दिएका छन्।