March 25th, 2016

प्रविधिलाई पछ्याउँदै नेपालका बैँकहरु 

bankingशिवहरि घिमिरे – वि.सं. १९९४ कात्तिक ३० गते तत्कालिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घाटन भएको दिनदेखि औपचारिक रूपमा नेपालमा बैंकिङ कारोबार सुरु भएको हो । नेपालमा औपचारिक रुपमा बैंकिङ सेवा सुरु भएको सात दशक नाघिसकेको छ । विभिन्न कालखण्डहरु पार गर्दै नेपाली बैंकहरुले आफ्नो कारोबारको दायरा पनि बढाएका छन् । आधुनिक बैंकिङको परिभाषालाई अलि फरक कोणबाट लिन सकिन्छ । अन्य क्षेत्रसँग तुलना गर्दा नेपालमा सूचना प्रविधिको राम्रो पहुँच र प्रयोग भएको क्षेत्रका रुपमा बैंकलाई लिन सकिन्छ । नेपालमा टेलिकम्युनिकेसन पछि आइटीको प्रयोग गर्ने संस्था तथा कम्पनी भनेकै बैंक तथा वित्त कम्पनीहरु हुन् । 

प्रायः सबै बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । पुराना तथा सरकारको स्वामित्वमा रहेका बैंकहरूले पनि आफूलाई यस क्षेत्रमा प्रतिस्पर्धी बनाउँदै आएका छन् । औपचारिक रूपमा नेपाल बैंकको कारोबार सुरु भएको अवस्थादेखि आजको दिनसम्मको बैंकिङ सेवामा ठूलो परिवर्तन आइसकेको छ । पुरातन अवस्थामा कागजी र तमसुक बैंकको अवस्थाबाट आज बैंकहरू पनि डिजिटलाइज भइसकेका छन् । खाता खोल्नदेखि रकम एक खाताबाट अर्को खातामा पठाउन इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत सम्भव भएसँगै र विभिन्न किसिमका किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सम्भव भएपछि समय र खर्चको बचतका साथै नगदमा आधारित कारोबारमा पनि कमी आउँदै गएको छ । 

पछिल्लो चरणमा बैंकहरुको प्रतिस्पर्धा प्रविधिमा भएको छ । बैंकहरु प्राविधिक रुपमा प्रतिस्पर्धाको यस्तो मैदानमा उत्रिएका छन् कि तीनको प्रतिष्पर्धाको दौड देखेर यतिखेर राष्ट्र बैंक पनि दंग छ । मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, व्रान्चलेस बैंकिङतर्फ नेपालका बैंकहरु अगाडि वढिरहेका छन् । बैंकहरु बीच पनि प्रविधि क्षेत्रको प्रतिस्पर्धा चलिरहेको छ । जुन बैंक प्रविधि क्षेत्रमा सक्षम र सवल छन् तीनै बैंक नै आज अब्बल देखिँदै गएका छन् ।
अधिकांश नगदमा आधारित कारोबार भएकोमा पछिल्लो समय प्रविधिमा आधारित ‘भर्चुअल’ कारोबार बढाउन राष्ट्र बैंक पनि उत्साहित देखिएको छ । यस्तो कारोबार बढेमा बैंकिङ सेवा छिटो छरितो हुने, हरेक स्थानमा बैंकिङ पहुँच हुने तथा नोट बढी फोहोर भई परिवर्तन गरिरहनुपर्ने समस्याबाट समेत छुटकारा मिल्नेछ । बैंकिङ र प्रविधि बीचको सम्बन्धलाई औँल्याउने हो भने, अहिलेको समयमा कम्प्युटरमा बैंकिङ सफ्टवेयरको प्रयोगबाट सेवा दिनु सामान्य र आधारभूत आवश्यकता भैसकेको छ । अबको जमाना भनेकै पेपरलेश बैंकिङको हो । यसको प्रयोगलाई विस्तार र व्यापक बनाउँदै ग्राहकहरू समक्ष आधुनिक सेवा दिने प्रतिस्पर्धा चलिरहेको छ ।

नेपालका बैंकहरुले अवलम्वन गरेको अर्काे प्रविधि इन्टरनेट बैंकिङ हो । यो प्रविधिको प्रयोगमार्फत कुनै निश्चित बैंकका जुनसुकै शाखा कार्यालयबाट सजिलै पैसाको कारोबार गर्न सकिन्छ । यस्तो सुविधालाई एबिबिएस सेवा भनिन्छ । यस्तो सुविधा प्रायः सबै वाणिज्य बैंकहरू र केही विकास बैंक तथा फाइनान्स कम्पनीहरूले दिइरहेका छन् । एटिएम अर्थात् जुनसुकै समयमा पैसा निकाल्न सकिने मेसिनको सुविधा प्रायः सहरी क्षेत्रमा विस्तार भैसकेको छ । जसले गर्दा पैसाको आवश्यकता पर्नासाथ जहाँसुकैबाट पनि मेसिनको प्रयोगमार्फत आफूलाई चाहिएको रकम सजिलै निकाल्न सकिन्छ । यससँंगै जल्दोबल्दो रूपमा मोवाइल र इन्टरनेट बैंंकिङजस्ता सेवाहरू प्रयोगमा विस्तार भइरहेका छन् । यसबाट ग्राहकले आफ्नो खातासम्बन्धि सम्पूर्ण जानकारी घरमा बसेरै हेर्न सक्ने सुविधा प्राप्त गरेका छन् । यसबाट बैंकिङ क्षेत्रमा जनताको पहँुच बढ्ने तथा सस्तो, सुरक्षित र सरल सेवा प्रदान गर्न सकिने हुँदा यो प्रविधि छिटो गतिमा विकास भइरहेको छ ।

त्यस्तै, हालै सुरु भइरहेको अर्को प्रविधि भनेको पैसा जम्मा गर्ने मेसिनको प्रयोग हो । यसको प्रयोग सामान्य रूपमा गर्न सकिन्छ । प्रविधिको विकासले थोरै जनशक्ति परिचालनबाट छिटो रूपमा धेरै काम गर्न सकिन्छ । जसले गर्दा आन्तरिक खर्चमा कमी आई मुनाफा कमाउने सम्भावना बढी हुने बैंकरहरुले राम्रैसँग बुझेका छन् । वर्तमान समयमा सरकारी बैंकभन्दा निजि बैंकहरु बढी प्रविधिमैत्री बन्न थालेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]