
बैंकिङ खबर/ सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत कुनै अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन्।
उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधनलगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्वीकार गरेका हुन्। स्रोतले भन्यो, “तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, नामका अगाडि माननीय लेख्न पाइँदैन भन्ने शर्त राख्नुभएको थियो। त्यसमा हाम्रो के नै विमति हुन्छ र ?”
खनालको यो घोषणा उनको अघिल्लो कामकाजसँग मेल खान्छ। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि उनले सरकारी सेवा सुविधा अस्वीकार गरेका थिए।
हालै मात्र सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्व गरेका खनाल सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका इमान्दार छविका पूर्वसचिवका रूपमा परिचित छन्। उनको यो निर्णयले आगामी सरकारले अपनाउने वित्तीय अनुशासन र खर्च कटौतीतर्फ सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।



