२०८२ भाद्र २९ गते

अर्थ मन्त्रालयले भुक्तानी नरोक्ने, दशैंअघिनै कर्मचारीले तलब पाउने

बैंकिङ खबर/ सरकारको भुक्तानी प्रणाली पुनः सुरु भएको छ । दशैं लगायतका चाडपर्व नजिकिएसँगै सरकारले आइतबारदेखि भुक्तानी दिन सुरु गरेको हो ।

यससँगै अब सरकारी कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने भएका छन् । यस्तै राजस्व संकलन समेत सुरु भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो ।

उक्त कार्यालयहरु धमाधम सञ्चालनमा आउन थालेका छन् । अर्थ मन्त्रालय पनि सुरक्षित अवस्थामा छ । शनिबारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजश्व संकलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजस्व उठाइसकेको छ । अन्य आम्दानीसहित शनिबारसम्म सरकारको ढुकुटीमा १ खर्ब ४६ अर्ब ९२ करोड संकलन भएको छ । यसै अवधिसम्म सरकारको खर्च १ खर्ब २० अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्षको पहिलो दुई महिना सकिँदासम्म सरकारको ढुकुटी बचतमै देखिन्छ । तर, दशैं भत्तासहित अनिवार्य दायित्वको सबैभन्दा ठूलो हिस्सा भने भदौ मसान्तसम्म खर्च हुनेछ ।

अघिल्लो सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यसमध्ये राजस्व संकलनबाट मात्र १४ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य राखेको थियो । २३ र २४ भदौमा निजी क्षेत्रमाथि भएको आक्रमण र उद्योग÷व्यवसायको क्षतिले सो लक्ष्य भेट्न कठिन हुने नेपाल उद्योग वाणिज्य महासंघले बताइसकेको छ ।