
बैंकिङ खबर/ वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले हालको अस्थिर परिस्थितिले नेपालको करिब ६१ खर्ब रुपैयाँको अर्थतन्त्रमा आधा जति नोक्सान भएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशलाई अहिले डुब्न लागेको डुङ्गासँग तुलना गर्दै सबैले मिलेर बचाउनुपर्ने आवश्यकता औँल्याए। अधिकारीले भने, “राष्ट्र अहिले अप्ठ्यारोमा छ। यसलाई डुब्न लागेको डुङ्गालाई जसरी जोगाउनुपर्छ।”
उनले जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाएकाहरूको रगत र बलिदानले परिवर्तन खोजेको उल्लेख गर्दै, अब सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए। अधिकारीका अनुसार नेपालकै सुस्त र भ्रष्टाचारग्रस्त अर्थतन्त्र आन्दोलनका कारण थप संकटमा परेको छ। उनले होटल क्षेत्रमा मात्र करिब २५ अर्ब रुपैयाँको क्षति भएको तथ्य प्रस्तुत गर्दै भने, “यसपटक भएको क्षति बिमाले धान्न सक्दैन। कोभिड महामारीताका पनि बिमाले भुक्तानी गर्न नसकेको अनुभव हामीसँग छ।”
उनले उद्योग, सम्पदा, सरकारी निकायदेखि मिडिया र न्यायपालिकासम्म असर परेको उल्लेख गर्दै, यो क्षति नेपालको दुई वर्ष बराबरको बजेट बराबर रहेको बताए। अधिकारीले एक सातादेखि अर्थतन्त्र ठप्प हुँदा दैनिक नोक्सानी भइरहेको, रोजगारी गुमिरहेको, गरिबी बढ्ने खतरा र युवा पलायन चुलिने जोखिम बढेको चेतावनी पनि दिए। सरकारलाई निष्पक्ष, पारदर्शी र सबैको सहभागिता हुने गरी छिट्टै चुनाव गराउन आग्रह गर्दै उनले आन्दोलनको कारण देखिएको असन्तुष्टिलाई सम्बोधन नगरे दीर्घकालीन संकट बढ्नेमा चिन्ता व्यक्त गरे।
