२०८२ भाद्र २८ गते

जेनजी आन्दोलन अर्थात् सेप्टेम्बर ८ पछि कहाँ–कहाँ भयो भौतिक क्षति (पूर्णविवरण)

बैंकिङ खबर/ नेपालको इतिहासमा अभूतपूर्व रुपमा देखिएको जेनजी आन्दोलनले मुलुकलाई राजनीतिक मात्र होइन, सामाजिक र आर्थिक दृष्टिले पनि हल्लाइदिएको छ ।

सेप्टेम्बर ८ (भदौ २३) बाट सुरु भएको यो आन्दोलनले केही दिनभित्रै राजधानी काठमाडौंदेखि लिएर सबै प्रदेशका प्रमुख शहरसम्म आक्रमण, आगजनी र तोडफोडको श्रृंखला फैलायो । आन्दोलन शान्तिपूर्ण प्रदर्शनका रूपमा सुरु भए पनि सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले भड्किएको असन्तोष हिंसात्मक आन्दोलनमा परिणत भयो ।

निजी क्षेत्र मात्र होइन, सरकारी भवन, पार्टी कार्यालय, सञ्चार गृह, होटल, विद्यालय, सुपरमार्केट, बैंक, प्रहरी चौकीदेखि लिएर राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका निवास स्थल आक्रमणमा परेका छन् ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको घोषणापछि युवापुस्तामा असन्तोष फैलियो । जनरेशन जेड भनिने नयाँ पुस्ताले आफ्ना विचार, स्वतन्त्रता र डिजिटल अधिकार खोसिएको आरोप लगाउँदै सडक आन्दोलन सुरु गर्‍यो ।

सुरुमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएका थिए, जसमा विद्यार्थी, युवा, स्वतन्त्र पेशाका व्यक्तिहरू सामेल थिए। तर, सरकारले बल प्रयोग गरेर भीड तितरवितर गर्न खोजेपछि आन्दोलन क्रमशः हिंसात्मक बन्दै गयो ।

राजधानीमा सबैभन्दा ठूलो क्षति

काठमाडौं उपत्यकामा आन्दोलन सबैभन्दा हिंसात्मक भयो । नेपाल सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा प्रदर्शनकारीले आगजनी गरे । केही भवनका कोठा र अभिलेख कक्ष पूर्ण रूपमा जले ।

संसद भवन(नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) भवनको ठूलो भाग जलेर प्रयोग अयोग्य भएको छ । राष्ट्रपति भवन शीतल निवासको पर्खाल र गेट तोडफोड भयो, केही भागमा आगो लगाइयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनकारीले गेट भत्काए, बगैँचामा तोडफोड गरे । काठमाडौं नक्सालमा रहेको पाँचतारे होटल हिल्टनमा आक्रमण भयो । जसबाट करोडौँको क्षति भएको छ ।

भाटभटेनी सुपरमार्केट काठमाडौंका विभिन्न शाखामा आगजनी भएको छ । एनसीएल, सिजी इलेक्ट्रोनिक्स, ग्लोबल कलेज, युल्नेस स्कुलमा तोडफोड र आगजनी भएको छ ।

यस्तै सञ्चार गृह कान्तिपुर मिडिया ग्रुप, अन्नपूर्ण पोष्ट लगायतका भवन तोडफोड भएका छन् । विभिन्न बैंकका शाखाका आगजनीका साथै सयौँ एटीएम मेसिन तोडफोड र जलाइएको छ ।

समूहले नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेता कार्यकर्ताको घरमा आगजनी र तोडफोड गरेका छन् ।

प्रदेश र जिल्लासम्म असर

जेनजी आन्दोलन काठमाडौंपछि आन्दोलन देशभर फैलियो ।

प्रदेश १ (विराटनगर, दमक, इटहरी, भद्रपुर): सरकारी कार्यालय, वडा कार्यालय, यातायात कार्यालयमा आगजनी भएको छ ।

मधेश प्रदेश (जनकपुर, वीरगञ्ज): जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी, बैंक शाखा आक्रमणमा परेका छन् ।

गण्डकी प्रदेश (पोखरा): पोखरा महानगरपालिका, कास्की जिल्ला अदालत र निजी व्यवसायिक भवनमा तोडफोड भएको छ ।

लुम्बिनी प्रदेश (बुटवल, नेपालगञ्ज)मा प्रहरी कार्यालय र यातायात कार्यालयमा आगजनी भएको छ ।

कर्णाली प्रदेश (सुर्खेत)मा प्रदेश सरकारका कार्यालय तोडफोड भएको छ । सुदूरपश्चिम प्रदेश (धनगढी, दिपायल)का जिल्ला प्रशासन कार्यालय र सरकारी संरचना जलेका छन् ।

जेलमा आक्रमण र कैदी फरार

काठमाडौंको नखु जेल, पोखरा, नेपालगञ्जसहित देशभरका कारागारमा आक्रमण हुँदा कैदी भागेका छन्।

मानवीय क्षति

स्वास्थ्य मन्त्रालयको प्रतिवेदनअनुसार आन्दोलन सुरु भएदेखि हालसम्म ५१ ज्नाको मृत्यु भएको छ भने १ हजार ३ सय बढी घाइते भएका छन् । धेरै घाइते गोली लागेर, अश्रुग्यास वा लाठीचार्जबाट भएका छन् ।

निजी क्षेत्रको ठुलो नोक्सानी

होटल व्यवसायः पर्यटक भागे, बुकिङ रद्द, संरचना जले।

सुपरमार्केट र पसलः ध्वस्त, लाखौँ मानिस प्रभावित।

यातायातः सवारी साधन जले वा तोडिए ।

शिक्षा क्षेत्रः कलेज, विद्यालयमा तोडफोड।

यसरी जेनजीको आन्दोलनसँगै देशमा राजनीतिक परिवर्तन भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्री नियुक्त गरिएको छ । अब नयाँ सरकारसँगै देशले विकाशको गति लिने अपेक्षा गरिएको छ ।