२०८२ भाद्र १५ गते

बैंकका नोट बाहेकका सबै सरकारी कागजपत्र अब नेपालमै छापिने

 

बैंकिङ खबर/ सरकारले बैंक नोट बाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् ।

आइतबार अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै उनले भने, ‘अबदेखि बैंक नोट बाहेक सबै चिजहरु हुलाक टिकट, स्मार्ट कार्डदेखि लिएर, हाम्रो लालपूर्जा, सिटिजनसिप, राष्ट्रिय परिचय पत्र, पासवर्डको कुरा गरौँ । सरकारसँग जोडिएका सबै स्टिकरहरु हाम्रो सुरक्षण मुद्रण केन्द्रमा नै छापिन्छ । यही प्रिन्ट गर्छौ । यो वर्षदेखि बन्द गरेका छौ, गएको वर्षसम्म हुलाक टिकट विदेशमा छापिन्थ्यो जुन बेलादेखि हुलाक टिकटको प्रयोग हुन्थ्यो ।’

उनले यस वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनकशिक्षा सामाग्री केन्द्रलाई छाप्न दिएको बताए । ‘यो वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण जनकशिक्षा सामाग्री मार्फत भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा छाप्न दिएका छौँ । हाम्रो कर्मचारीको व्यवस्थापन हुन अव एक हप्ता लाग्छ यो कर्मचारीको व्यवस्थापन भएपछि सबै सुरक्षण मुद्रण केन्द्रमा नै छापिने जानकारी गराउछु,’ उनले भने ।

बैंक नोटको लागि छुट्टै मेसिनको आवश्यकता पर्ने भन्दै बैंक नोट खरिद गर्नुपर्ने बताए । उनले हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सूचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराएर मात्र डकुमेन्ट छाप्नुपर्ने बताए ।