
बैंकिङ खबर/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल माध्यमको सचेत, जिम्मेवार र समुचित प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताएका छन्।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रममा बोल्दै देउवाले सबैले डिजिटल प्रविधिको सकारात्मक उपयोग गरेर समाज र राष्ट्रको विकासमा योगदान पुर्याउन सक्ने धारणा राखे।
उनले भने, “डिजिटल माध्यमले हरेक सेवा र सुविधालाई छिटोछरितो र पारदर्शी बनाएको छ। हामीले यसलाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा प्रयोग गर्नुपर्छ।”
सभापति देउवाले मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालमार्फत करोडौँ मानिसहरू दैनिक रूपमा डिजिटल प्लेटफर्मसँग जोडिएको उल्लेख गर्दै यस प्रविधिले जनताको जीवनशैलीलाई सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेको बताए।
उनका अनुसार, कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीति, ऐन र नियमहरूले टाढाका बस्तीका नागरिकसम्म प्रविधिको पहुँच पुर्याएको भए पनि अझ धेरै काम बाँकी रहेको छ।


