विष्णु प्रसाद धिताल, अध्यक्ष, एपेक्स डेभलपमेन्ट बैँक
वर्तमान समयमा बैंकहरुको सेवा चुस्त र दुरुस्त नभएका कारण बैंकहरुको भविष्य कतातिर ढल्किने हो भनेर लेखाजोखा गर्न सक्ने अवस्था छैन । त्यसैले बैंकहरुले आफ्नो सेवालाई प्रभावकारी बनाउन तर्फ ध्यान दिनुपर्छ । यदि बैंकहरुले सेवामा पारदर्शीता देखाएका छन् भने ती बैंकहरुको भविष्य पनि सुन्दर देखिन्छ । पहिलाको तुलनामा धेरै बैंकहरुले अहिले गाउँगाउँमा शाखाहरु विस्तार गर्ने र सेवा प्रदान क्रम बढ्न थालेको छ । यतिमात्र हुँदैमा बैंकहरुको सेवा पारदर्शी छ भन्न मिल्दैन । दुरदराजका मानिसले पनि बैंकको सेवा लिन पाए भने मात्र सेवा प्रभावकारी भएको मानिन्छ ।
बैंकले सुरक्षित क्षेत्रमा लगानी गर्नुपर्छ
बैंकको लगानी सुरक्षित र भरपर्दो भयो भने त्यसको नतिजा पनि सकारात्मक आउँछ भन्ने मेरो बुझाई छ । पछिल्लो समयमा धेरै बैंकहरुले भनेजस्तो सेवा दिन नसकेका कारण ग्राहकहरुकोे विश्वास गुमाएका छन् । तर विकास बैंकहरुको भने सुधारात्मक अवस्था छ । राष्ट्र बैंकले समय समयमा अनुगमन गरिरहेका कारण बैंकहरु आफ्नो सेवाप्रति सचेत बन्न थालेका छन् । फाइनाइन्स विकास बैंक र कमर्सियल बैंकहरुले आफ्नो सेवालाई चुस्त र दुरुस्त बनाउन थालेका छन् । हामीले पनि लगानी र उत्पादनका क्षेत्रलाई प्राथमिकताको विन्दुमा राखेर काम गर्छाैँ ।
लगानीको दायरा बढाउनुपर्छ
एपेक्स बैंककोे लगानी सुरुमा जग्गातिर केन्द्रीत थियो, तर अब विस्तारै कृषि, उद्योग र हाइड्रोतिर लगानी गर्नतर्फ बैंककोे ध्यानाकषर्ण भइरहेको छ । लगानीका क्षेत्रहरु गाउँ केन्द्रित भयो भने बैंकहरुले आफ्नो कारोबारको दायरा फराकिलो पार्न सक्छन् । लगानी गर्नको लागि सम्भावना बोकेका क्षेत्रमध्ये हाइड्रो पनि एक हो । त्यसैले बैंकहरुले यस्ता क्षेत्रमा पनि लगानी गर्ने हो भने देशको आर्थिक क्षेत्रमा पनि सुधार हुने देखिन्छ । यी क्षेत्रहरुमा बैंकहरुले लगानी गर्न सके भने राम्रोे प्रतिफल पनि प्राप्त गर्न सक्छन् । त्यस्तै पर्यटन क्षेत्र पनि लगानीको हिसाबले उत्तिकै फाइदाजनक क्षेत्र हो । गाउँगाउँमा तरकारी खेती गर्न चाहनेलाई बैंकले ऋण दिनुपर्छ । कृषिलाई बैंकहरुले प्राथमिकता दिनुपर्छ भनेर राष्ट्र बैंकको निर्देशन पनि आएको हुनाले अब बैंकहरुले लगानीको दायरा बढाउने छन् । त्यस्तै, नयाँ विकासका परियोजनाहरुलाई पनि प्राथमिकतामा राख्न जरुरी देखिन्छ ।