
बैंकिङ खबर/ पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारलाई गन्तव्यविहीन, योजनाविहीन र अलमलिएको आरोप लगाउँदै नीति तथा कार्यक्रम पनि त्यसै अनुसार आएको टिप्पणी गरेका छन्।
सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया जनाउँदै उनले भने, ‘सरकार अलि गन्तव्यविहीन चलिरहेको छ, नीति पनि त्यहीअनुसार देखिन्छ।’ पुनले नीति तथा कार्यक्रम संसद् छल्ने मनसायका साथ ल्याइएको दाबी समेत गरे। ‘संसद्लाई छल्न खोजिएको जस्तो देखिन्छ,’ उनको भनाइ छ, ‘आफूखुसी बजेट बनाउन यस्तो नीति ल्याइएको हुन सक्छ।’
नीति तथा कार्यक्रमले राष्ट्रिय प्राथमिकता, दीर्घकालीन विकास रणनीति र तत्कालीन समस्याहरूलाई सम्बोधन गर्न नसकेको समेत आरोप लगाए। उनले अहिलेको नीति तथा कार्यक्रमका आधारमा बजेट पनि निरस, अमूर्त र गन्तव्यहीन आउन सक्ने संकेत गरे।
‘बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउने संकेत देखिएको छ,’ पुनले भने, ‘यसले आर्थिक सुशासन र दिगो विकासमा योगदान पुर्याउन सक्दैन।’
उनले विगतको सरकारले दर्जनौँ नयाँ कार्यक्रम ल्याए पनि अहिलेको रोकेको आरोप लगाए। ‘विगतको सरकारले नयाँ दर्जनौँ कार्यक्रम घोषणा गरेर कार्यान्वयनको लागि संकल्प गरेको थियो, त्यसलाई अहिले रोकिएको छ,’ पुनले भने, ‘तिनीहरूलाई के गर्ने, त्यसमा स्पष्ट केही आएको छैन।’
