March 27th, 2025

पत्रकार कुँवरलाई ‘राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड’

बैंकिङ खबर/ पत्रकार नवराज कुँवरलाई ‘राष्ट्रिय डिजिटल युवा पत्रकारिता अवार्ड २०८१’ प्रदान गरिएको छ । फरक र प्रभावशाली मल्टिमिडिया कन्टेन्टमार्फत खासगरी युट्युबलगायत सोसल मिडियाका विकृति न्यूनीकरणमा भूमिका खेलेकोमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, सांसद गणेश पराजुली, अनलाइन टीभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी, न्युज एक्सप्रेस मिडियाका अध्यक्ष मिलन सिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारीले राष्ट्रिय नाचघरमा आयोजित विशेष कार्यक्रममा कुँवरलाई मेडलसहित अवार्ड प्रदान गरेका हुन् ।

उदयपुरको बेलका नगरपालिका–९, रामपुर स्थायी घर भएका उनी ५ वर्षयता अनलाइन न्युज पोर्टल शिलापत्र डटकममा कार्यरत छन् । अनलाइनमा क्रियटिभ ब्युरो प्रमुखको भूमिकामा रहेका उनी खासगरी गैरराजनीतिक विषयमा कलम चलाउँछन् । बालबालिका, अल्पसंख्यक समुदाय, साहित्य अनि फरक खालका विषय र विधामा रुचि राख्ने कुँवरले खासगरी युट्युबमा आउने भ्रामक सूचनालाई चिर्दै समाचारमूलक सामग्री बनाउँदा पत्रकारिता आचारसंहिता पालना गर्न युट्युबहरूलाई खबरदारी गर्दै आएका छन् ।

विशिष्ट व्यक्तिका दुई छवि देखाउने श्रृंखला ‘फरक पाटो’, फोटो पत्रकारहरूको बायो सेरिज ‘फोटोकार’ अनि छायामा परेका कार्टुनिस्टहरूबारे ‘साताका कार्टुनिस्ट’ जस्ता मल्टिमिडिया स्तम्भ शिलापत्रमा उनका चर्चित काम हुन् ।

बुधबार न्युज एक्सप्रेस मिडियाको आयोजनामा भएको दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ अन्तर्गत वरिष्ठ पत्रकार हरिहर बिरहीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ले सम्मानित गरिएको थियो । यसैगरी पत्रकारहरू जगदीश खरेल, ठाकुर बेल्बासे, ममता थापा, रोहित भण्डारी, सञ्जीव रेग्मी, केशवराज जोशी, गोपीकृष्ण चापागाईं, भोजराज थापालगायतलाई सम्मान गरिएको थियो ।